‘रियाल रिङ्गेट’को मार्मिक टिजर : पर्दामा वैदेशिक सपना, सङ्घर्ष र बिछोडको यथार्थ

0 Shares

वैदेशिक रोजगारीको कठोर यथार्थलाई पर्दामा उतार्ने नेपाली फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ। साउन १६ गते रिलिज हुने यो फिल्मको निर्माण कम्पनी रेबेल फिल्म्सले आइतबार दर्शकमा गहिरो भावनात्मक प्रभाव पार्ने टिजर सार्वजनिक गरेको हो।

टिजरले नेपाली युवाहरूको सपना, सङ्घर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाएको छ। नेपालमा रोजगारीको अभावले पिरोलिएका युवाहरू कसरी विदेश पलायन हुन बाध्य हुन्छन्, परिवारसँगको वियोग र प्रवासमा उनीहरूले भोग्नुपर्ने कष्टकर परिस्थितिलाई फिल्मले प्रस्तुत गरेको छ। प्रवास पुगेपछि षड्यन्त्रमा फस्ने, गलत मनसाय भएका व्यक्तिहरूको जालमा परेका युवाहरूको मार्मिक चित्रण गरिएको छ। यसले वैदेशिक रोजगारीको चम्किलो आवरणभित्र लुकेका अँध्यारा यथार्थ उजागर गरेको छ।

विभोर पोखरेल निर्देशित यो फिल्ममा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन्।

‘रियाल रिङ्गेट’ नाम कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको ‘रिङ्गेट’ बाट प्रेरित हो, जसले नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरूलाई संकेत गर्छ। सार्वजनिक पोस्टरमा देखिएको ट्यागलाइन “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो” ले फिल्मको समग्र मर्मलाई समेट्छ। कवि नाथन रायनका यी शब्दहरूले वैदेशिक रोजगारीका सपना भित्र लुकेको दुःख, परायोपन र शोषण उजागर गर्छन्।

फिल्मका निर्माता गगनलाल प्रधान हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ। गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर रहेको छ। गीतका शब्द अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्।

भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको फिल्मलाई काफिया फिल्म्सले वितरण गर्दैछ।

सम्बन्धित समाचार

सबै