‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

0 Shares

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ।

कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा आधारित तयार गरिएको गीतको अडियोमा देउडा र लोक फ्लेवर मिश्रित गरिएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा गीत सार्वजनिक गरिएको हो, जसको भिडियोमा मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल रहेका छन्।

बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन्। गायनमा चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन्। प्रवीन सिंहले खिचेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ। सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकोले निर्माण टिमले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।

राज बहादुर सानेको निर्देशनमा निर्माण गरिएको फिल्मको गीत रिलिज कार्यक्रममा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथि रहेका थिए। उनले फिल्म पनि गीत जस्तै उत्कृष्ट बनेको होस् भन्दै सफलताको शुभकामना दिएका थिए।

निर्देशक सानेले रिलिज कार्यक्रममा दाबी गरे, “‘सिटामोल’ले मेरो करियर बदल्नेछ। यो मैले अहिलेसम्म बनाएको सबैभन्दा राम्रो फिल्म हो। हामीले यो फिल्म निकै मेहनतका साथ बनाएका हौं। र यो नेपाली समाजको यथार्थ कथालाई प्रस्तुत गर्छ।”

फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्री कृष्ण र जानुका यस फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेका हुन्।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता हुन्। अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता हुन् भने गंगाराम श्रेष्ठ सह-निर्मातामा छन्।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डीआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई, र छायाँकन दिव्य सुवेदीले गरेका छन्।

सम्बन्धित समाचार

सबै