
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को अमेरिकाका विभिन्न सहरमा विशेष शो गरिएको छ।
अमेरिकाको कोलम्बस, ह्यारिसबर्ग र पिट्सबर्गमा गरिएको विशेष शोमा फिल्म हेर्ने दर्शकहरूले फिल्मको खुलेरै प्रशंसा गरेका छन्।
सोमबार राति पिट्सबर्गमा गरिएको विशेष शो हेरेका दर्शकहरूले विश्वका विभिन्न देशहरूमा बसोबास गरिरहेका नेपालीहरूले आफ्नो कला, संस्कार र संस्कृति बिर्सँदै गएको अवस्थामा फिल्मको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र इतिहास दर्शाउन खोजिएकोले यो फिल्म निकै सुन्दर भएको र हरेक नेपालीभाषीले हेर्नैपर्ने फिल्म बनेको प्रतिक्रिया दिएका छन्।
फिल्म ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै “नेपाली को हुन्?” भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन रहेको छ। सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादन बनिश शाह र सिजिआई सत्यम रानाको रहेको छ।
दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईको संगीत रहेको यस फिल्ममा दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलका शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ।