‘महाभोज’ हेरेका दर्शकको बलियो प्रतिक्रिया, सेलिब्रेटीहरू पनि प्रशंसामा खुले

0 Shares

 शुक्रबार रिलिज भएको नेपाली फिल्म ‘महाभोज’ ले दर्शकहरूबाट अभूतपूर्व र शक्तिशाली मौखिक प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर हलबाट बाहिरिने दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै उनीहरूको सकारात्मक प्रतिक्रियाले फिल्मको व्यापारमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।

सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिरो रूपमा चित्रण गरेको भन्दै दर्शकहरूले ‘महाभोज’ लाई ‘हेर्नैपर्ने’ फिल्मको संज्ञा दिएका छन् । शो सकिनेबित्तिकै दर्शकहरूले ताली बजाएर आफ्नो प्रशंसा व्यक्त गरिरहेका छन् ।

एक दर्शकले फिल्म हेर्दा आफू अलि भावुक र अलि आक्रोशित भएको प्रतिक्रिया दिए । उनले भने, “फिल्म हेर्दा म अलि भावुक र अलि आक्रोशित भएँ । यसले समाजको यथार्थलाई यति सुन्दर ढंगले प्रस्तुत गरेको छ कि यसले मेरो मन छोयो ।” अर्का एक दर्शकले यो केवल मनोरञ्जन मात्र नभई एउटा शिक्षा र आन्दोलन पनि भएको बताए । समीक्षकहरूले पनि यसको पटकथा, निर्देशन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।

यसै क्रममा, सोमबार साँझ काठमाडौंमा नेपाली फिल्म, साहित्य र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले ‘महाभोज’ हेरेका छन् । कलाकार हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बु, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाजशास्त्री निर्मला ढकाल लगायतको उपस्थिति थियो । फिल्म हेरेपछि उनीहरूले ‘महाभोज’ ले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको उच्च प्रशंसा गरे ।

साहित्यकार अमर न्यौपानेले फिल्मले कानुनी राज्यको चुनौती माथि प्रश्न उठाएको बताए । “यत्रो सङ्घर्ष गरेर हामीले संविधान, कानुन बनाएका छौं । हामी अहिले २०८२ सालको लोकतान्त्रिक गणतन्त्रमा छौं, तर सहकारी पीडितहरूलाई न्याय गर्न कानुनले काम गरेको छैन । पीडकहरू अझै पनि प्रमाण लुकाउने ठाउँमा छन् । यत्रो ठुलो परिवर्तनपछि पनि कानुनले काम नगर्दा बल प्रयोग गर्नुपर्ने हो त भन्ने प्रश्न यो फिल्मले उठाउँछ ।”

वरिष्ठ कलाकार हरिवंश आचार्यले फिल्मले जनताको पैसाको दुरुपयोग कसरी हुन्छ भन्ने यथार्थ चित्रण गरेको बताए । “जनताको पैसालाई माथिल्लो स्तरसम्मका नेताहरूले कसरी अपचलन गरेका छन् भनेर फिल्ममा राम्रोसँग देखाइएको छ,” उनले भने । वरिष्ठ कलाकार सरोज खनालले फिल्मको मुख्य सन्देशलाई प्रकाश पार्दै भने, “गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबैभन्दा ठुलो हत्यारा हुन्छ भन्ने सन्देश नै ‘महाभोज’ ले दिएको सबैभन्दा ठुलो सन्देश हो । हाम्रो देशमा यो प्रकृतिका धेरै मानिसहरू छन्, उनीहरूलाई यो फिल्मले झकझक्याउँछ ।”

कलाकार जितु नेपालले फिल्मको विषयवस्तुको मार्मिकता र यथार्थपरकताको प्रशंसा गरे । “फिल्मले उठाएको विषयवस्तु नै एकदम राम्रो र मार्मिक छ । यसमा सहकारी ठगीलाई जसरी देखाइएको छ, त्यो यथार्थपरक छ । र, यो फिल्म अत्यन्त रमाइलो पनि छ,” उनले भने । कलाकार परीक्षा लिम्बुले फिल्मले नेतृत्वको नकारात्मक प्रभाव कसरी समाजमा पर्छ भन्ने कुरा देखाएको उल्लेख गरिन् । “मलाई एकदमै यथार्थ महसुस भयो । एक जना नराम्रो नेतृत्वको कारणले पूरै समाजलाई कति नकारात्मक समस्या पर्छ भन्ने उदाहरण यो फिल्मले देखाएको छ,” उनले भनिन् । निर्देशक नवीन चौहानले ‘महाभोज’ का निर्देशक दिनेश राउतको कार्यको उच्च मूल्याङ्कन गरे । उनले भने, “महाभोजलाई मैले निर्देशक दिनेश राउतको आजसम्मकै उत्कृष्ट फिल्मको रूपमा पाएँ ।”

दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सम्बन्धित समाचार

सबै