
निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्। निर्देशक थापाले फिल्म विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दा कलाकारको नाममा प्रदीप खड्का उल्लेख गरिएको छ।
दश वर्षअघि ‘प्रेमगीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेको हो। निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए, तर दुवै पक्षबाट फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन।
निर्देशक थापाले दश वर्षअगाडिको फिल्म ‘प्रेमगीत’ मा प्रदीपसँगको सहकार्य सफल भएको सम्झेका छन्। उनले त्यस समय ‘प्रेमगीत’ ले धेरै कलाकार तथा प्राविधिकलाई करियरको उचाइमा पुर्याएको बताएका छन्, जसमा अहिलेका स्टार अभिनेता प्रदीप खड्का पनि एक हुन्।
हुन पनि ‘प्रेमगीत’ लाई एक उदाहरणीय प्रेमिल फिल्म मान्न सकिन्छ। यो फिल्म सबै वर्गका दर्शकको मन जित्न सफल भएको थियो। अब निर्देशक थापा र अभिनेता खड्काले ‘प्रेमगीत’ भन्दा अझ सफल फिल्म बनाएर फेरि दर्शकको मन जित्नुपर्ने चुनौती भने पक्कै छ। त्यति मात्रै होइन, प्रेम कथामा आधारित फिल्म बनाउन निर्देशक थापा सफल मानिन्छन् भने ‘लभर ब्वाई’ भूमिकामा अभिनेता खड्का पनि निकै रुचाइएका छन्।
अहिले बन्न लागेको फिल्म ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक फिल्म हो। यो फिल्मले समाजका मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्वलाई फिल्ममा प्रस्तुत गर्ने निर्देशक थापाले बताएका छन्।
यो फिल्मका लागि अभिनेत्रीको भने हालसम्म टुंगो लागेको छैन। छिट्टै अभिनेत्रीसहित सम्पूर्ण कलाकार तथा प्राविधिक टुंग्याएर छायांकनमा जाने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।
निर्देशक थापाका प्रेम कथामा आधारित सफल फिल्महरूमा ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ आदि छन्।