
निर्देशक कृषा चौलागाइले नयाँ फिल्म ‘जहाजैमा’मा साइन गरेसँगै यसको चर्चा खुबै छ। कृषाले जापान पुगेर यो फिल्मको निर्देशन गर्ने सम्झौता गरेकी थिइन्। हाल उनी प्रि–प्रोडक्सनको काममा धमाधम लागिरहेकी छन्।
फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ। निर्माण पक्षले फिल्मकी मुख्य नायिकाको नाम सार्वजनिक गरिसकेको छ।
यो फिल्ममा जापानी नायिका रजेल इचिमियाले अभिनय गर्ने पक्का भएको हो। कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरे पनि उनको विषयमा केही उल्लेख गरेकी थिइनन्।
सार्वजनिक पोस्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनि उभिएकी रजेलको शालीनता र सुन्दरता छल्किएको छ। पोस्टर हेर्दा यो फिल्म केवल एक फिल्म नभई नेपाल र जापानबीचको भावनात्मक पुलका रूपमा प्रस्तुत हुने विश्वास गर्न सकिन्छ।
निर्देशक चौलागाइले यसपटक फिल्ममा जापानी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपूर्ण भए पनि रोचक हुने बताइन्। फिल्मलाई यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाईंले निर्माण गर्दै छन्। फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाइ छ।
फिल्ममा जापानी नायिका हुने पक्का भए पनि नायक कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन। निर्देशक चौलागाइले हाल नायक फाइनल गर्ने प्रक्रियामा रहेको बताइन्।
रजेल जापानमा सक्रिय नायिका तथा मोडल हुन्। उनलाई नेपाली फिल्ममा भित्राउनु आफैंमा नयाँपन हो। यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ।