
ऋषि लामिछानेको निर्देशनमा निर्माण गरिएको फिल्म ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ।
शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको पोस्टर सार्वजनिक र प्रदर्शन मिति घोषणा गरिएको हो।
यो फिल्म आगामी भदौ ६ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शनमा ल्याउने जानकारी दिइएको छ। फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) कुर्सीमा पैसासहित राजकीय अवतारमा प्रस्तुत भएका छन्। अर्को पोस्टरमा फिल्मका तीन मुख्य कलाकार — केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राई — लाई स्थान दिइएको छ।
यो फिल्मबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्। निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिलेको परिस्थितिमा आफैँलाई राजाको रूपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताएका छन्। फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका हुन्। उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन्।
निर्देशक लामिछाने र निर्माता घिमिरेबीच यो तेस्रो सहकार्य हो। उनीहरूले निर्माण सहकार्य गरेका अघिल्ला दुई फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्-श्रीमती’ बक्स अफिसमा सुपरहिट भएका थिए। निर्देशक लामिछानेले उनीहरूको तेस्रो सहकार्य पनि सुपरहिट हुने दाबी फिल्मको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा गरेका हुन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटक मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ। फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ।
आरआर फिल्म्सले वितरण गर्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद, र दीपक शर्मा तथा बाबुल गिरीको संगीत रहेको छ।