
फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदैछ। विजय बराल मुख्य भूमिकामा रहेको फिल्ममा एसोसिएट डिरेक्टरको रूपमा मनिष राउत छन्।
मनिष ‘प्रेमगीत ३’ का अभिनेता हुन्। प्रदीप खड्कापछि उनी उक्त फिल्ममा मुख्य भूमिकामा थिए। ‘प्रेमगीत ३’ मा दर्शकले रुचाएका मनिष ‘जनै हराएको मान्छे’ मा भने एसोसिएट डिरेक्टरको भूमिकामा सीमित छन्।
यस फिल्ममा दर्शकले उनलाई अभिनयमा देख्न पाउने छैनन्।
मनिष सिनेमा पढेका अभिनेता हुन्। पढेर सिने करियरमा होमिएका उनले ‘जनै हराएको मान्छे’ मा किन अभिनय गरेनन्?
“निर्देशन पनि क्रिएटिभ काम नै हो। अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो। अभिनय र निर्देशन सँगै सँगै अगाडि बढाउँदा थप सहज हुन्छ कि भन्ने मेरो सोच हो,” मनिष भन्छन्,
“म पूरै निर्देशक त होइन। तर निर्देशकको कामको पनि अनुभव गरेपछि अभिनयलाई सहयोग हुन्छ भन्ने लाग्छ।”
मन मिल्ने टिम र राम्रो कथा भएकाले मेहनत गरेर काम गरौँ भन्ने उद्देश्यले उनले ‘जनै हराएको मान्छे’ मा फरक विभागमा काम गरेको स्पष्ट पारे।
हरेक अभिनेताको निर्देशन गर्ने चाहना हुने दृष्टान्त दिँदै उनले अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन चाहेको बताए।
आगामी दिनमा दर्शकले आफूलाई फेरि अभिनयमा देख्न सक्ने जानकारी उनले दिएका छन्।
भदौ ६ मा रिलिज हुने ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ अहिले पोस्ट-प्रोडक्सनमा छ।
बलियो कलाकार समूह रहेको फिल्ममा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।
फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत छ। नवीन गुरुङ डीओपी हुन् भने कृष्ण परियार सिनेमेटोग्राफर हुन्।
फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक हुन्। तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन्। फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
गोविन्द शाहीको काफिया फिल्म्सले वितरणको जिम्मा लिएको छ।
अलटाइम ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो वर्षको पहिलो फिल्म हो। सन् २०८१ मा नेपाली फिल्म उद्योगलाई ब्लकबस्टर हिट दिने विजय र केकी ‘जनै हराएको मान्छे’ मा मुख्य भूमिकामा सँगै देखिँदै छन्।