
नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा ट्रेलर सार्वजनिक गरिएको हो।
निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेको यस वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको हो। यसमा सगरमाथा चढ्न हिंडेकाहरूको कथा, संकल्प र बाटोमा उनीहरूले भोग्ने चुनौतीहरू देखाइएको छ। सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रूपमा यात्रा थालेका थिए। त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश गरिएको छ।
कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै, ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडा हुँदै सुर्के, फाक्दिङ हुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेप, कालापत्थर र बेसक्याम्पसम्म पुग्छ। त्यसपछि क्याम्प १, २, ३, ४ (साउथ कोल), हिलारी स्टेप हुँदै शिखरसम्मको यात्रा सम्पन्न हुन्छ।
‘यो केवल वृत्तचित्र मात्र होइन, देश चिनाउने हाम्रो अठोट हो,’ पत्रकार प्रेम बानियाँले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं। नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्यायको आरम्भ हो।’
‘मानिसको जीवन पनि शून्यबाट सुरु हुन्छ र बिस्तारै बाल्यकाल, किशोरावस्था, वयस्क हुँदै अघि बढ्छ। यो यात्रा मानव जीवनकै संकेत पनि हो।’ झन्डै ५१० किलोमिटर दूरीको पदयात्रा पूरा गर्न करिब ९० दिन लागेको पनि उनले बताए। निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए।
‘हामी लामो समयदेखि सिर्जनात्मक क्षेत्रमा काम गर्दै आएका साथीहरू हाल अमेरिकामा बस्छौं। देशका लागि मिलेर केही गरौं भन्ने सोचले यो अवधारणा अघि सार्यौं। टेण्डी शेर्पा, पुष्कर शाह लगायतको साथ पायौं। अब यस वृत्तचित्रलाई अमेरिकाका सबै राज्यमा देखाउने, त्यसपछि युरोप, अष्ट्रेलिया तथा एशियाका अन्य देशमा देखाएर अन्ततः नेपालका हलहरूमा सार्वजनिक गर्ने हाम्रो योजना छ। यसलाई देश चिनाउने माध्यमको रूपमा अघि बढाउनेछौं।’
जलवायु परिवर्तन अध्ययनका लागि पनि यो गन्तव्य विशेष हुनेछ। त्यस्तै, भूगर्भ पर्यटनको अध्ययन केन्द्रको रूपमा समेत विकास गर्न सकिने उनले धारणा राखे। वृत्तचित्रको छायांकन र सम्पादन निर्देशकद्वय निरञ्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन्।
श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छायाँकार छन्। प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन्। सगरमाथा शिखरका दृश्यहरू सुजन गुरुङ र दोजी शेर्पाले छायांकन गरेका हुन्। उनीहरू यसका लागि शिखरसम्म पुगेका थिए।