
यो वर्षको एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूबीचको राष्ट्रिय नृत्य प्रतियोगिता ‘छैटौँ एसईई डान्स च्याम्पियनसिप २०८२’ मा शिवानी थापा मगर उत्कृष्ट बनेकी छिन्।
काठमाडौँको कपनस्थित बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले आयोजना गरेको प्रतियोगितामा शिवानीले ट्रफी, मेडलसँगै १ लाख रुपैयाँ नगद तथा कक्षा ११ र १२ को पूर्ण छात्रवृत्ति जितिन्।
शनिबार साँझ राष्ट्रिय नाचघरमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममा २० जना अन्तिम प्रतिस्पर्धीहरूले नृत्य प्रस्तुति दिएका थिए। तीमध्ये शिवानीले प्रथम स्थान हासिल गरिन्।
त्यस्तै, प्रतियोगितामा एग्रिया सिंहले दोस्रो स्थान प्राप्त गर्दै ५० हजार रुपैयाँसहित प्लस टुको छात्रवृत्ति पाइन्। गोविन्द गुरुङ ‘कुसुम’ तेस्रो हुँदै ३० हजार रुपैयाँसहित प्लस टुको पूर्ण छात्रवृत्तिका साथै ट्रफी र मेडल जिते।
यस च्याम्पियनसिपको निर्णायक मण्डलमा कोरियोग्राफरहरू गम्भीर बिष्ट, प्रिन्स श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन र शान्ति कठायत रहेका थिए।
नम्बरको आधारमा विजेतादेखि उत्कृष्ट १० भित्र पर्ने सबै विद्यार्थीहरूले प्लस टु अध्ययनका लागि विभिन्न कलेजमार्फत पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्। मनासलु कलेज लगायतले उत्कृष्ट १० मा परेकाहरूलाई छात्रवृत्ति उपलब्ध गराउनेछन्।
कार्यक्रममा तेन्जिङ पाल्जोर लामाले सान्त्वना पुरस्कारसहित प्लस टुको पूर्ण छात्रवृत्ति पाए भने, पब्लिक च्वाइस अवार्ड जितेकी प्रशिका अधिकारीले पनि ट्रफी, मेडलसहित छात्रवृत्ति हात पारिन्।
‘बेस्ट स्किल अवार्ड’ जित्दै गौतम खड्काले पनि छात्रवृत्ति पाएका छन्।
एसईई डान्स च्याम्पियनसिप विजेता शिवानी थापा मगरका कोरियोग्राफर अविनाश हमाल ‘उत्कृष्ट कोरियोग्राफर’ घोषित भए।
प्रतियोगिताको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले गरेका थिए। उनले विजेता सबैलाई बधाई तथा शुभकामना दिए।
कार्यक्रमका आयोजक महेश गोदारका अनुसार नृत्य र पढाइलाई सँगै अघि बढाउन सन्देश दिन प्रतियोगिता आयोजना गरिएको हो।
कार्यक्रममा नेपाली गीत–संगीत र नृत्य क्षेत्रमा योगदान दिएबापत अग्रज गायक नारायण रायमाझी, नृत्यविद् रामचन्द्र (आरसी) कोइरालालगायतलाई सम्मान गरिएको थियो।