
आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने फिल्म ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा बढी देशमा एकैसाथ रिलिज हुने भएको छ।
सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का चर्चित निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको फिल्म ‘कोशेढुंगा’ नेपालसँगै अमेरिका, अष्ट्रेलिया, जापान, युके, क्यानडालगायत ४० भन्दा बढी देशमा प्रदर्शन हुनेछ।
फिल्म ‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। सेभेन सिजले यो फिल्म सो मितिमा देश तथा विदेशमा एकैसाथ प्रदर्शनमा ल्याउने निर्माण कम्पनीले जनाएको छ।
“हाम्रो फिल्म ४० भन्दा बढी देशमा एकैसाथ रिलिज हुनेछ। अन्य देशहरूमा पनि रिलिजका लागि वितरकहरूसँग छलफल भइरहेको छ,” निर्देशक पौडेलले भने, “रिलिजको समयसम्म केही अन्य देशहरू पनि थपिनेछन्।”
डायस्पोरामा नेपाली फिल्मको इतिहासमा पहिलो पटक ‘कोशेढुंगा’ भदौ १२ गते (अगस्ट १८) का दिन ४० देशका हलहरूमा एकैसाथ रिलिज हुन लागेको जानकारी अन्तर्राष्ट्रिय वितरक कम्पनी सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले दिएका छन्।
नेपाली फिल्मको डायस्पोरा इतिहासमा पहिलो पटक यति धेरै देशमा एकैसाथ फिल्म प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा वितरक ढकालको छ।
निर्देशक पौडेलद्वारा निर्देशित फिल्म ‘कोशेढुंगा’को छायांकन स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको हो। काठमाडौंमा पनि सेट बनाएर यो फिल्मको छायांकन गरिएको थियो। गाउँले परिवेशमा आधारित यो फिल्मले मौलिक कथा प्रस्तुत गर्नेछ।
केही समयअघि सार्वजनिक गरिएको फस्टलुक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई गाउँको पृष्ठभूमिमा पछ्यौरी ओढेकी ग्रामीण महिलाको भूमिकामा प्रस्तुत गरिएको छ।
नरदेवी फिल्म्सको प्रस्तुति रहेको फिल्म ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मञ्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका निर्माताहरूमा प्रेविल कँडेल र किशोर अनुराग छन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठले छायांकन गरिरहेका यस फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत रहेको छ। फिल्मको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।