
शुक्रबार राजधानीमा एक कार्यक्रमको बीच फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास र महत्व देखाउन खोजिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधानले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणका लागि गरिएको संघर्षको कथावस्तुमा फिल्म निर्माण गरेको बताए।
फिल्मका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो फिल्म हरेक नेपालीले हेर्नुपर्ने फिल्म भएको बताए। त्यस्तै विजय बरालले यो फरक फिल्म भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको उल्लेख गरे। विल्सन विक्रम राईले फिल्मको कथामा मिल्ने गीत लेखेको र कथालाई नजिकबाट देखेकाले फिल्म उत्कृष्ट बनेको बताए। फिल्मकी नायिका आयुषा समालले आफू विदेशमा बसेर पनि नेपाली भाषा सिक्न र जोगाउन प्रयासरत रहेको बताइन्।
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन “मन्त्री”, सुबास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यो फिल्म ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह र सिजिआई सत्यम राना रहेको छ।
दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईको संगीत रहेको यो फिल्ममा दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलका शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ। फिल्मलाई आर आर फिल्म्सले वितरण गर्दैछ।