मनोवैज्ञानिक थ्रिलर ‘द ब्ल्यू लाइट’को छायांकन सम्पन्न

0 Shares

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’को इन्डकल्याप सम्पन्न भएको छ। जेठ २२ गतेबाट छायांकन सुरु गरिएको फिल्म उपत्यकाभित्रका विभिन्न स्थानमा २५ दिन लगाएर खिचिएको हो।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन्। प्रतिक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक रहेका चौहानको यो डेब्यु निर्देशन हो।

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको यस फिल्मको प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन्।

फिल्मको थिम पोस्टर र फर्स्टलुक पोस्टर पहिल्यै सार्वजनिक भइसकेका छन्। थिम पोस्टरमा नीलो रङले घेरिएको वातावरणमा एक बालिका उभिएकी देखिन्छिन्, जसमा उनको कम्मरदेखि माथिसम्मको भाग मात्र देखाइएको छ। उनको जुंगरुङ कपाल र विछिप्त मुद्राले फिल्मको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि संकेत गर्छ।

त्यस्तै, छायांकनकै क्रममा सार्वजनिक गरिएको अर्को पोस्टरमा मुख्य कलाकारमध्ये एक बेनिशा हमाल देखिएकी छन्। उक्त पोस्टरमा उनी बारमा तनावग्रस्त मुद्रामा देखिन्छिन्, औंलामा चुरोट च्यापेर बसेकी अवस्थामा।

निर्माण पक्षले कलाकारको भूमिका र कथावस्तुबारे विस्तृत खुलासा गरेको छैन। निर्देशक चौहानले बिस्तारै सबै विवरण सार्वजनिक गरिने बताएका छन्।

“हामीले जे बनाउन खोजेका थियौं, त्यसमा सफल भयौं। अब पोस्ट-प्रोडक्सनको काम अघि बढ्नेछ,” निर्देशक चौहानले भने, “कलाकारहरूको अभिनयले कथालाई जीवन्त बनाएको छ, हामी निकै उत्साहित छौं। दर्शकलाई राम्रो फिल्म देखाउनेछौं।”

फिल्मका को-प्रोड्युसरमा रमन ग्रे रहनेछन् भने कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन्। छायांकन नरेन्द्र मैनालीले नै गरेका हुन्।

आकाश उखेडा मुख्य सहायक निर्देशक रहेका फिल्ममा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।

‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन्।

सम्बन्धित समाचार

सबै