रामकृष्ण ढकाल बने निर्माता, विजय-वर्षाको जोडी कस्दै बनाउने भए ‘मालती मंगले’

0 Shares

 सुप्रसिद्ध गायक रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ मा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत अनुबन्धित भएका छन्। शुक्रवार बराल र राउतसँग औपचारिक कागजी सम्झौता गरिएको हो।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन्। फिल्मको पटकथा तथा संवाद संयोज गुरागाईंले तयार पारेका हुन् भने कथा निर्देशक पाण्डेयकै लेखनमा आधारित छ। कार्यकारी निर्मातामा सागर ज्ञवाली रहेका छन् भने छायांकन निर्देशक महेश पौडेल हुन्। विजय बस्यालले पोस्टर डिजाइन गर्नेछन् भने सम्पादनमा रोमी तण्डुकार, रंग संयोजनमा कृष्ण भण्डारी, गीतमा राजेन्द्र थापा र संगीतमा राजनराज सिवाकोटी रहेका छन्।

निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ एक पारिवारिक प्रेमकथामा आधारित फिल्म हो। उनले हाललाई विजय बराल र वर्षा राउतको भूमिकाबारे विस्तृत जानकारी दिन नसकिने बताएका छन्।

विशेष कुरा के छ भने, फिल्मका लागि विजय बराल र वर्षा राउतले झण्डै तीन महिना अन्य फिल्महरूमा काम नगर्ने निर्णय गरेका छन्। उनीहरूले उक्त समय आफ्ना चरित्रमा गहिरिएर अध्ययन गर्न र निर्माण गर्न खर्चिनेछन्।

फिल्मको छायांकन भदौको पहिलो सातादेखि करिब ४० दिनको तालिकासहित सुरु हुने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए। साथै, ‘मालती मंगले’ यसै वर्षको अन्त्यतिर प्रदर्शनमा ल्याउने तयारी भइरहेको समेत उनले बताए।

फिल्मका निर्माता रामकृष्ण ढकालले चार हजारभन्दा बढी नेपाली गीतमा स्वर दिइसकेका छन्। नेपाली फिल्मसँग उनको सम्बन्ध पुरानो हो। सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको फिल्म ‘आशीर्वाद’ मा उनले अभिनय गरेका थिए, जुन उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए। ‘मालती मंगले’ मार्फत उनी पहिलोपटक निर्माताको भूमिकामा आएका हुन्।

सम्बन्धित समाचार

सबै