
पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा तयार भएको फिल्म ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाएँ त’ आज सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बाबुल गिरी र शान्ती श्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीकै संगीत रहेको गीत सार्वजनिक गरिएको हो।
कर्णप्रिय संगीतसहित आकर्षक भिडियोलाई साथ दिइएको यो गीतलाई सुभ चिरायू फिल्म्स र जापुरा फिल्म्स प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो। फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको छ।
गीतको भिडियोलाई नायक प्रमोद दीपसँगै कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको आकर्षक नृत्यले झनै सशक्त बनाएको छ।
वास्तविक जीवनका घटनाबाट प्रेरित भनिएको फिल्म ‘हली’ मा नम्रता भण्डारी सह–निर्माताको रूपमा रहेकी छन्।
फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ।
कार्यकारी निर्माता अर्जुन भुसाल रहेका फिल्ममा लक्ष्मण बज्राचार्य लाइन प्रोड्यूसर, जीवननाथ गौतम मुख्य सहायक निर्देशक, रामप्रसाद चौधरी सम्पादक रहेका छन्। तर, प्रमोशनल गीतको सम्पादन भने विपिन मल्लले गरेका हुन्। गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
फिल्ममा राहुल राईको छायांकन, शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भट्टाराईको संगीत, कुमार महर्जनको एक्सन, तथा कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी समावेश गरिएको छ।
कार्यक्रममा बोल्दै निर्मात्री जश्मिन श्रेष्ठले भनिन्, “देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी छ भन्ने सन्देश यो फिल्मले दिन्छ। दर्शकहरूले साथ दिए भने हामी निरन्तर फिल्म निर्माणमा लाग्नेछौं।”