
आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ।
‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने संवादबाट सुरु भएको यस फिल्मको मर्मस्पर्शी टिजरमा निर्देशक राजबहादुर सानेले कथावस्तु प्रस्तुत गरेका छन्। टिजरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बाल्यकालदेखि सुरु भएको सम्बन्ध विवाहसम्म पुग्ने कथा र त्यसपछि आउने उतार-चढावले दर्शकमाझ उत्सुकता जगाउन सफल देखिएको छ।
फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, र बालकलाकार करण परियार र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। श्रीकृष्ण निरौला र जानुका विश्वकर्माले यस फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण गरेको यस फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता हुन् भने अप्सरा नेपाली, अजय मल्ल, र कुमार केसी कार्यकारी निर्माता हुन्। गंगाराम श्रेष्ठ सह-निर्माता छन्।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलरमा राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेका छन्। सिनेमालाई दिव्य सुवेदीले छायांकन गरेका हुन्।