
२२ औं धान दिवसको अवसरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आयोजना गरेको रोपाइँ उत्सव भव्य रूपमा सम्पन्न भएको छ। गोकर्णेश्वर–७, शिवचोकको फाँटमा आयोजित कार्यक्रममा थुप्रै कलाकारहरूको उपस्थितिमा सांस्कृतिक कार्यक्रम र धान रोपाइँ गरिएको थियो।
कार्यक्रममा कलाकारहरूले केहीबेर सांस्कृतिक प्रस्तुति दिएका थिए भने त्यसपछि उनीहरू प्रत्यक्ष रूपमा रोपाइँमा सहभागी भएका थिए।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले कार्यक्रमलाई सम्बोधन गर्दै लोक सञ्चारकर्मी नेपालले नेपाली संस्कृति र पहिचान संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरे। साथै, कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यमा सबैको सहयोग आवश्यक भएको बताउँदै कृषिमा जोड दिन आग्रह गरे।
कार्यक्रममा वरिष्ठ गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, गायक बद्री पंगेनी, नवीन पौडेल, मञ्जु पौडेल, कलाकार सरोज लामिछाने, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, मोडल एलिजा गौतम, सन्जु न्यौपाने, बालगायिका आयुषा गौतम लगायत कलाकारहरूको सहभागिता रहेको थियो।
उक्त अवसरमा घाँसे गीतका जानकार शिवनारायण जोशी र नारायण रायमाझीलाई सम्मान पनि प्रदान गरिएको थियो।
कार्यक्रमका आयोजक संस्था राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले संस्थाले नेपाली मौलिकता र संस्कृति झल्किने कार्यक्रमहरूमा सधैं प्राथमिकता दिने जानकारी दिए। साथै, कृषिमा आत्मनिर्भरता कायम गर्न असार १५ मा हरेक वर्ष रोपाइँ उत्सव आयोजना गरिँदै आएको बताए।