
विश्वकै पहिलो कृषि रियालिटी गेम शो ‘र: रिभोलुशनरी एग्रीकल्चर वार’ द्वारा असार १५, राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिवसको अवसरमा गोदावरीको लेलेमा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षण महानायक राजेश हमालको विशेष उपस्थिति रहेको थियो।
गोदावरी नगरपालिका कृषि शाखा र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहकार्यमा आयोजित कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकाल, इसीमोडका डा. टाशी शेर्पा, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, वडा नं. १० का अध्यक्ष शेखर न्यौपाने, कार्यपालिका सदस्य उमा महतलगायत विभिन्न संघसंस्था, पत्रकार, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको बाक्लो उपस्थिति थियो।
स्थानीय संस्कृति झल्काउने धिमेबाजा, असारे गीत तथा नृत्यहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रमबारे जानकारी दिँदै कृषि रियालिटी शो ‘र’ का परिकल्पनाकार तथा निर्देशक शैलेश कँडेल क्षेत्रीले “किसानलाई सेलेब्रिटी बनाउने र कृषिलाई सम्मानित पेसाको रूपमा स्थापित गर्ने” उद्देश्यले शो अगाडि बढाइएको बताए। असार १५ मा मनोरञ्जनमार्फत कृषिप्रतिको चेतना फैलाउने अभियानमा यो कार्यक्रम अघिल्लो वर्षदेखि निरन्तर अघि बढिरहेको उनले बताए।
कार्यक्रममा बोल्दै रियालिटी शो ‘र’ का महाहोस्ट तथा महानायक राजेश हमालले, “हामी आफ्नै पृष्ठभूमि र कृषिको महत्त्व बिर्सिन थालेका छौं, जसका कारण युवाहरू पलायन भइरहेका छन् र देश खाद्यान्नमा परनिर्भर बन्दै गएको छ,” भनी चिन्ता व्यक्त गरे। रोपाइँमा प्रत्यक्ष सहभागी भई, ‘टग अफ वार’ जस्ता खेलमार्फत उनले उपस्थित सबैको उत्साह बढाएका थिए।
मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक ढकालले युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए। उनले प्रविधिको प्रयोगले परम्परागत कृषिमा आधुनिकता भित्र्याएर कृषि क्षेत्रलाई उकास्न सकिने धारणा राखे। कार्यक्रममा उक्त कम्पनीको प्राविधिक टोलीले ड्रोनमार्फत तरल मल छर्ने प्रविधिको प्रदर्शन पनि गरेको थियो।
गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी विकासमा नगरपालिका विशेष पहल गरिरहेको र आगामी आर्थिक वर्षमा यसमा थप प्राथमिकता दिइने जानकारी दिए।
गत वर्ष असार १५ मा ललितपुरको खोकनामा ‘र’ रियालिटी शोका लागि आवेदन खुला गरिएको थियो। देशभरका ७७ वटै जिल्लाबाट १६८२ आवेदन प्राप्त भए। तीमध्ये १०० जना छनोट भई अन्तरवार्ता, तालिम र जनसम्पर्क विस्तार कार्यक्रममा सहभागी गराइयो। शीर्ष १२ किसान र शीर्ष १२ कृषि प्राविधिकको सहभागितामा ६ एपिसोडको छायाङ्कन शंखरापुर नगरपालिकाको कात्तिकेमा सम्पन्न भएको थियो। कार्यक्रम भदौदेखि हिमालय टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रशारण हुने जनाइएको छ।