दया र प्रकाशले सुरु गरे ‘मिरमिरे’को वर्कसप, कहिले हुन्छ रिलिज ?

0 Shares

फिल्म ‘मिरमिरे’को वर्कसप सुरु भएको छ । दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको फिल्मको वर्कसप सुरु भएको हो ।

आइतबारदेखि फिल्मका मुख्य कलाकारसहित वर्कसप सुरु गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए ।

“सुटिङ सहज होस्, कथा र क्यारेक्टर तथा कलाकारबीच सहजता होस् भनेर हामीले वर्कसप सुरु गरेका हौं,” निर्देशक शेर्पाले भने, “यसले हामीलाई हाम्रो फिल्म छिटो छायांकन गर्न थप सहयोग गर्नेछ ।”

कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको फिल्म ‘मिरमिरे’ यही शुक्रबारदेखि छायांकनमा जानेछ । फिल्मको अधिकांश छायांकन काभ्रेमा हुनेछ ।

यस फिल्ममार्फत प्रकाश र दयाहाङ पहिलोपटक सहकार्य गर्दै छन् । यमले दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनले निर्देशन गरेको पहिलो फिल्म ‘कार्साङ’मा पनि दयाहाङले अभिनय गरेका थिए ।

यार्सा फिल्म्सको प्रस्तुति रहने यस फिल्ममा दयाहाङ, प्रकाशसँगै अभिनेत्री सिर्जना निङलेखु र अभिनेता माओत्से गुरुङको पनि अभिनय रहनेछ ।

निर्देशनसँगै फिल्मको कथा पनि यम शेर्पाले नै लेखेका हुन् । तर उनले कथा बारे केही खुलाएका छैनन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेका ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । फिल्मको कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन् ।

‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ । तर प्रदर्शन मिति भने तय भइसकेको छैन । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

सम्बन्धित समाचार

सबै