यस्तो बन्यो ‘माग्ने राजा’को टिजर, दर्शकलाई कति हसाउँला ?

0 Shares

हल्का रमाइलो भन्दै दर्शक हँसाउँदै आएका केदार घिमिरे अब पूरा रमाइलो गराउने वाचा गर्दै हलमा आउने भएका छन् ।

उनको मुख्य भूमिका रहेको ‘माग्ने राजा’को सोमबार सार्वजनिक गरिएको टिजरले यही संकेत गरेको छ । केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ ।

केदार घिमिरेको भिन्न स्वरूप देखिने फिल्ममा विल्सन विक्रम राई केदारको भान्जाको भूमिकामा देखिन्छन् । टेलिभिजन पर्दामा माग्ने बुढा र तक्मे बुढाका रूपमा चर्चित विल्सन र केदारको जोडी पुनः देखिनेछ ।

पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् । यद्यपि टिजरले उनीहरूका भूमिकाहरू धेरै खुलाएको छैन ।

पोस्टरमार्फत केदारलाई नयाँ स्वरूपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्ने पात्रलाई नयाँ ढंगमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।

आरम्भ प्रोडक्सनको ब्यानरमा मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । फिल्मको टिजर साहिल खानले तयार पारेका हुन् । आगामी भदौ ६ गते नेपालसँगै विदेशमा पनि प्रदर्शन हुने तयारीमा रहेको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।

सम्बन्धित समाचार

सबै