
नेपालको पहिलो चलचित्र ‘आमा’को पोस्टर अब हुलाक टिकटमा देख्न पाइने भएको छ। चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित विशेष कार्यक्रममा ‘आमा’ चलचित्रको पोस्टर अंकित हुलाक टिकट सार्वजनिक गरिएको हो।
वि.सं. २०२१ साल असोजमा प्रदर्शनमा आएको चलचित्र ‘आमा’लाई हिरा सिंह खत्रीले निर्देशन गरेका थिए। यस ऐतिहासिक चलचित्रमा शिवशंकर खत्री र भुवन चन्द मुख्य भूमिकामा देखिएका थिए। नेपाली चलचित्र उद्योगको सुरुवात यही चलचित्रबाट भएको मानिन्छ।
हुलाक सेवा विभागले रु. १० दरका दुईवटा टिकट प्रकाशन गरेको छ, जसमा चलचित्रका मुख्य पात्रहरूको तस्वीर समावेश गरिएको छ। टिकटको प्रथम दिवसीय आवरण (First Day Cover) मा विशेष ढाँचाको डिजाइन गरिएको छ।
टिकट अनावरण कार्यक्रममा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा सहभागी भएर टिकट सार्वजनिक गरे।
हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले टिकटको डिजाइन तयार गरेकी हुन्। कार्यक्रममा महानिर्देशक पंगेनीले भनिन्, “यो टिकटले ‘आमा’को ऐतिहासिक महत्वलाई विश्वभर पुर्याउनेमा हामी विश्वस्त छौं।”
साथै, संगीतमा रुचि राख्ने बताउने पंगेनीले भनिन्, “म पनि गीत लेख्छु र गाउँछु। त्यसैले यो क्षण मेरो लागि पनि विशेष छ। हामी राष्ट्रिय विभूति र महत्वपूर्ण चिजहरूलाई हुलाक टिकटमा समावेश गर्छौं।”
चलचित्र ‘आमा’ समेटिएको यो हुलाक टिकटले नेपाली चलचित्रको प्रवर्धनमा विशेष योगदान पुर्याउने विश्वास गरिएको छ।