
घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली फिल्म ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन्।
वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो फिल्म हाल प्राइम भिडियोमा स्ट्रीमिङका रूपमा उपलब्ध छ।
अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट पनि यो फिल्म हेर्न सक्नेछन्। जसअन्तर्गत २ सयभन्दा बढी देशका दर्शकले यो फिल्म हेर्ने अवसर पाएका छन्।
फिल्मको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ल्ड’ले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो। विशेष कुरा के भने, यो फिल्म ४३ भाषामा सबटाइटलसहित रिलिज गरिएको छ, जसले यसलाई बहुभाषिक दर्शकहरूको पहुँचमा पुर्याएको छ।
निर्माण पक्षका अनुसार ‘चित्रा’ विश्वव्यापी रूपमा अमेजन प्राइममा रिलिज हुने पहिलो नेपाली फिल्म हो। यसअघि केही नेपाली फिल्महरू अमेजन प्राइम युके वा युएसए संस्करणमा मात्र सीमित थिए, तर ‘चित्रा’ भने ग्लोबल प्लेटफर्ममा रिलिज भएको हो।
निर्देशक लामिछानेले आफूले निर्देशन गरेको फिल्म यसरी विश्वव्यापी रूपमा रिलिज भएको खबरले अत्यन्त उत्साहित बनाएको बताए।
लामिछाने भन्छन्, “‘चित्रा’ को यो सफलता नेपाली फिल्म उद्योगका लागि उदाहरणीय बन्न सक्छ। विश्व बजारमा नेपाली कथालाई पुर्याउने र ‘नेपालमा पनि यस्तो स्तरको फिल्म बन्न सक्छ’ भन्ने सन्देश दिन फिल्म सफल भएको देखिन्छ। हाम्रो कथा अब संसारका दर्शकले बुझ्ने भाषा र माध्यममा पुगेको छ। यो एउटा सुरुवात मात्र हो।”
फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्याप इन्टरटेनमेन्ट अस्ट्रेलियाले सह–निर्माण गरेका हुन्। ‘चित्रा’का निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माता र राज श्रेष्ठ सह–निर्माता हुन्।
अजय अधिकारीको कथा र मनिष गौतमको पटकथामा आधारित फिल्मले एक अवकाशप्राप्त बाबु र छोरीबीचको सम्बन्ध, भावनात्मक उतारचढाव र पारिवारिक सम्बन्धको कथा समेटेको छ।
महेश पौडेलको छायांकन रहेको फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ।