
मिलन तामाङको निर्देशनमा र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’ को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ।
आगामी दसैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो फिल्मको फस्टलुक हालसम्म सार्वजनिक गरिएको छैन। तर, फस्टलुक पोस्टर नआउँदै अस्ट्रेलिया राइट्स महँगो मूल्यमा बिक्री हुनु यो फिल्मको हाइप कुन स्तरमा छ भन्ने पुष्टि हुन्छ।
अस्ट्रेलिया राइट्स महँगोमा बिक्री भएसँगै फिल्मको लगानीको एक ठुलो हिस्सा सुरक्षित भएको निर्माणपक्षले जनाएको छ। यो फिल्मको अस्ट्रेलिया रिलिज अधिकार ‘हिमारो इन्टरटेन्मेन्ट’का लागि प्रमेज धामी र प्रकाश गैरेले खरिद गरेका हुन्।
निर्माता अधिकारीका अनुसार, फिल्म अन्य देशहरूमा पनि बिक्री गर्ने प्रयास भइरहेको छ। अन्य देशमा पनि फिल्म चाँडै बिक्री हुने सम्भावना देखिएको छ, किनभने फिल्मको कथावस्तु, कलाकारको लाइनअप र निर्माणपक्षको मेहनत विदेशी बजारमा देखिएको छ, जसले गर्दा फिल्मको माग बढेको हो।
सुसन प्रजापतिको छायांकन रहेको यस फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।
फिल्ममा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ।