
नेपाली फिल्म रियाल रिङ्गेटको दोस्रो गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ सार्वजनिक गरिएको छ। आगामी श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मले वैदेशिक रोजगारीको मुद्दालाई मुख्य विषयवस्तु बनाएको छ, जुन गीतका बोल र भावमा पनि झल्कन्छ।
सार्वजनिक भएको यस गीतले प्रेम र वैदेशिक रोजगारीको सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गरेको छ। रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेको स्वरमा रहेको गीतमा प्रदीप भारद्वाजको शब्द र रामचन्द्र काफ्लेको सङ्गीत रहेको छ। गीतमा अभिनेता प्रमोद चौलागाईं र अभिनेत्री निता अधिकारीको अभिनय र नृत्य देख्न सकिन्छ।
गीतका बोलले नै केटी पक्षबाट ज्वाइँको रूपमा विदेशमा कमाउने केटाप्रति अपेक्षा रहेको प्रस्ट पार्छ। निता अधिकारीले गीतमा आफू विदेशमा कमाउन गएको केटा खोजिरहेको भाव व्यक्त गरेकी छन्। यसको प्रत्युत्तरमा प्रमोद चौलागाईंले आफू पनि विदेश जाने तयारी गरिरहेको सन्देश दिएका छन्।
यो गीतले प्रमोद र निता दुवै पात्रहरूको पृष्ठभूमि र उनीहरूको सम्बन्धलाई प्रारम्भिक रूपमा दर्शकमाझ चिनाउन मद्दत पुर्याएको छ।
गीतले नेपाली समाजमा वैदेशिक रोजगारीले सिर्जना गरेको आर्थिक र सामाजिक प्रभावलाई पनि उजागर गरेको छ। फिल्मका निर्देशक विभोर पोखरेलले रियाल रिङ्गेटलाई “हरेक नेपालीको कथा” भनेका छन्। उनले यस फिल्मले विदेशमा रहेका नेपालीहरूका यथार्थ जीवन र संघर्षलाई नजिकबाट चित्रण गर्ने दाबी गरेका छन्।
फिल्मको नाम रियाल रिङ्गेट आफैंमा प्रतीकात्मक छ — ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको। यी दुई मुद्राको संयोजनले मुख्य गन्तव्य मुलुकहरूलाई जनाउँछ, जहाँ लाखौं नेपालीहरू आफ्नो परिवार पाल्न र भविष्य बनाउने सपना लिएर श्रम गर्दै आएका छन्।
फिल्ममा प्रमोद चौलागाईं र निता ढुङ्गानासँगै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन्। द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायांकन हरि घले, सम्पादन विपिन मल्ल, ब्याकग्राउन्ड स्कोर किरण तुलाधर र कोरियोग्राफी राजीव समरले गरेका छन्।
गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेका स्वर समावेश छन्। गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्।
रियाल रिङ्गेटको छायांकन भारतको राजस्थान र नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो। फिल्मलाई काफिया फिल्म्सले वितरण गर्नेछ।