
कथाशैलीका मोडल कलाकार निराजन प्रधान नेपाली मनोरञ्जन क्षेत्रमा पुनः सक्रिय भएका छन् – तर अभिनयमार्फत होइन, निर्देशनमार्फत। कुनै समय नेपाली म्युजिक भिडियो क्षेत्रमा एकछत्र राज गरेका निराजन म्युजिक भिडियो निर्देशन गर्दै कलाकारितामा पुनः फर्किएका हुन्।
उनले निर्देशन गरेको ‘माया बस्यो’ बोलको गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको गीतमा केकी अधिकारी र राघव दाहालको अभिनय रहेको छ।
फोटो कथा शैलीमा प्रस्तुत भिडियोमा एक प्रेमिल जोडीको गहिरो प्रेमलाई दर्शाइएको छ। अनुहार देख्नेबित्तिकै प्रेम सुरु हुने प्रसंगबाट अगाडि बढेको गीतले सागरभन्दा गहिरो र नदीभन्दा लामो माया बसेको भाव प्रस्तुत गर्छ। गीतमा एकअर्काको गुणको खुलेर प्रशंसा गरिएको छ, जसले उनीहरूको सम्बन्धको आत्मीयता झल्काउँछ।
गीत सरगम घतानले लेखेकी हुन्, जसको अन्त्यमा प्रेमी–प्रेमिकाले सुख–दुःख सँगै बाँड्ने प्रण गर्छन्।
योगेश काजी शाहको संगीत तथा एरेन्ज रहेको गीतको मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुरेश काफ्लेले ड्रोनबाट कभर गरेका छन्। सम्पादन तथा रंग संयोजनमा प्रवीन श्रेष्ठ र कोरियोग्राफीमा रोशन विश्वकर्मा रहेका छन्।
सक्सेस एजुकेसन एन्ड भिसा सर्भिसेसको सहकार्यमा तयार भएको भिडियोकी निर्मात्री सनुस्का दाहाल हुन्।
निराजन प्रधानले यसअघि केही नेपाली फिल्महरूमा पनि अभिनय गरिसकेका छन्। निर्देशनमा पहिलो पटक हात हालेका उनले भनेका छन्,
“निर्देशन पनि गरौँ भन्ने चाहना पहिले देखिनै थियो। अहिले त्यो अवसर आयो। जस्तो तपाईंहरूले अभिनयमा रुचाइदिनुभयो, म निर्देशनमा पनि त्यही विश्वासको अपेक्षा राख्छु।”
https://youtu.be/983UZ7QXXJw?si=iOxzq8RD58XfwNR2