
रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘कुम्भ’ को प्रदर्शन मिति तय गरिएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन र फिल्म छायांकनमा सक्रिय निर्देशक श्रेष्ठको निर्देशनमा बनेको यो फिल्म मङ्सिर १२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो।
ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुनेछ। फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।
एक्सन विधामा निर्माण गरिएको ‘कुम्भ’ मा नव–नायक अशोक आर्यन, वरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेल, साथै अफ्सना थापा, रोहित रुम्बा, र सृष्टि खड्का मुख्य भूमिकामा छन्।
फिल्मको छायांकन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरेका छन्। निर्माणमा रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली, र राजेश साह संलग्न छन्। ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्।
फिल्मको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका छन्। फिल्मको वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ।