
आगामी असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक गरिएको छ।
देशभक्तिपूर्ण कथावस्तुमा आधारित फिल्मको यस गीतमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधान लगायतका मुख्य कलाकारहरूले अभिनय गरेका छन्।
जरसिंह पौवास्थित साँगा चोकमा छायांकन गरिएको यस गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी ‘घायल’को शब्द र कमल रसाइलीको स्वर रहेको छ। गीतले फिल्मको कथावस्तु झल्काउँछ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार गरिएको यस गीतमा करिब २०० वटा राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति तथा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यस फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। फिल्ममा नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।
मित्र प्रधान (नर) को निर्देशनमा बनेको फिल्ममा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन तथा सत्यम रानाको सिजिआई रहेको छ।
फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राईको संगीत रहेको छ भने गीतमा दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी ‘घायल’का शब्द तथा खैंजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ। फिल्मलाई आर आर फिल्म्सले वितरण गर्नेछ।