
अभिनेता केदार घिमिरेले ‘माग्ने राजा’को टिजरले पाएको सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताएका छन्। सिनेमाकर्मी र दर्शकबाट टिजरले प्रशंसा पाएकामा उनले खुसी व्यक्त गर्दै फिल्मका बाँकी प्रचार सामग्रीले पनि त्यही माया पाउने विश्वास व्यक्त गरे।
उनले भने, “टिजरमा दर्शकबाट आएको प्रतिक्रियाले निर्माण टिम खुसी छ। मलाई नयाँ स्वरूपमा देख्न खोजिएको प्रतिक्रियालाई हामी सकारात्मक रूपमा लिएका छौं। तर ‘माग्ने राजा’को पात्र माग्नेकै निरन्तरता स्वरूप निर्माण भएकाले यसमा पुरानो माग्नेका लवज र थेगो प्रयोग भएका छन्। तर फिल्ममा नयाँ माग्ने पनि देख्न सक्नुहुन्छ।”
केवल तीन दिनमै करिब १० लाख भ्युज पाएको टिजरका संवाद दर्शकले रुचाएका छन्। त्यसैगरी, टिजरको प्रोडक्सन भ्यालु (निर्माण गुणस्तर) ले पनि दर्शकलाई सन्तुष्ट बनाएको छ।
निर्देशक ऋषि लामिछानेका अनुसार, “टिजरले तीन दिनमै ९ लाख ९३ हजारभन्दा बढी दर्शक पाउनु फिल्मले पाएको विश्वासको प्रतीक हो।”
उनका अनुसार फिल्म हास्य विधामा निर्माण गरिएको हो र टिजरले दर्शकमा सिनेमाप्रति जिज्ञासा जगाउन सफल भएको छ। “टिजरको काम दर्शकमा उत्सुकता जगाउनु हो, जुन टिजरले गर्न सकेको छ। केदार घिमिरेलाई पहिलोपटक मुख्य भूमिकामा प्रस्तुत गर्दा केही दुविधा थिए, तर दर्शकको प्रतिक्रियाले हामी ढुक्क भएका छौं,” उनले भने।
लामिछानेले माग्ने पात्रकै वरिपरि फिल्मको मुख्य कथा घुम्ने भएकाले प्रचार सामग्रीमा पनि त्यो पात्र प्रमुख रहने जानकारी दिए। “यो माग्ने पात्रलाई स्पिन-अफ पात्रको रूपमा पनि बुझ्न सकिन्छ। हामीले सुरु देखिनै हास्यरसयुक्त कथा प्रस्तुत गर्ने भनिरहेका छौं। यही अपेक्षाका साथ फिल्म हेर्नुभयो भने निराश हुनु पर्नेछैन,” उनले थपे।
आगामी भदौ ६ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने फिल्म ‘माग्ने राजा’को टिजरले दर्शकमाझ राम्रो हाइप बनाउन सफल भएको छ। मुनाल घिमिरेको लगानीमा बनेको फिल्ममा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन्।