फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक

0 Shares

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौंसहित देशका आठ सहरबाट एकै साथ पोस्टर सार्वजनिक गरेको हो।

काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एकसाथ पोस्टर सार्वजनिक गरिएको हो।

“देशभर एकसाथ फिल्मको प्रचार होस् र दर्शकमाझ उत्सुकता सिर्जना होस् भन्ने उद्देश्यले देशका ठूला सहरहरूमा बेलुन उडाएर पोस्टर सार्वजनिक गरेका हौं,” निर्माता विमल न्यौपानेले बताए।

फिल्मको प्रचारलाई केही फरक तरिकाले प्रस्तुत गरेर दर्शकको ध्यान आकर्षित गर्ने उद्देश्यले टिमले यस्तो रणनीति अपनाएको हो। मोफसलका दर्शकलाई पनि फिल्मबारे जानकारी दिने लक्ष्य रहेको निर्माता न्यौपानेले जानकारी दिए।

टिमले दुईवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ। राकेश दहालद्वारा डिजाइन गरिएको एउटा पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर देखिएका छन्।

अर्को पोस्टरमा केकी अधिकारी एक्लै देखिएकी छन्। दुबै पोस्टरले फिल्मको कथालाई, अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई, दृश्यात्मक रूपमा प्रस्तुत गर्छन्।

पहिलो पोस्टरमा छेउमा केकी र मिरुना छन्, बीचमा विजय बराल। केकी र मिरुनाले समातेको धागो विजयले बीचबाट समातेका छन्। मिरुना बेहुलीको भेषमा छन्। विजय, केकीको निलो र मिरुनाको रातो रंगको बीचमा छन्, जसले सम्बन्धको द्वन्द्व प्रस्ट पार्छ।

यस दृश्यले केकी विजयकी दिदी हुन् र मिरुना विवाह गर्न चाहेको युवती हुन् भन्ने संकेत गर्छ। मिरुनाको अनुहार मंगोलियन विशेषतायुक्त छ भने विजय र केकी आर्य अनुहारमा छन्। यसले विजय जातीय परम्परामा अडिनु वा प्रेममा क्रान्तिकारी निर्णय गर्नु भन्ने दोधारमा रहेको चित्र दिन्छ।

अर्को पोस्टरमा केकी धागाले बाँधिएको अवस्थामा देखिन्छिन्। उनको हात पहेँलो, निलो र रातो धागाले बाँधिएको छ। पोस्टरमा लेखिएको छ: “जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी।” यसले केकी विजयको निर्णयसँग भावनात्मक रूपमा जोडिएको संकेत गर्छ।

पोस्टरमा प्रयोग भएका रंगहरूले पात्रहरूको मनोविज्ञान चित्रण गर्छन् भने धागोको प्रयोगले भिजुअल रूपमा फरकपन थपेको छ। यी पोस्टरहरू दर्शकमा फिल्मप्रतिको उत्सुकता बढाउन सक्छन्।

यसअघि निर्माण टिमले फिल्मको फर्स्टलुक सार्वजनिक गरिसकेको थियो। ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हिमाल न्यौपानेद्वारा निर्देशित फिल्म हो।

भदौ ६ गते रिलिज हुने फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारको अभिनय रहेको छ।

पेपरक्लिपको ब्यानरमा बनेको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिल्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।

फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत, नवीन गुरुङको डिओपी र कृष्ण परियारको सिनेमाटोग्राफी रहेको छ।

कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत छन् भने सहायक निर्देशकहरूमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी रहेका छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

फिल्मको वितरण काफिया फिल्म्सका गोविन्द शाहीले गर्नेछन्।

अल टाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो वर्षको पहिलो फिल्म हो।

वि.सं. २०८१ मा ब्लकबस्टर फिल्म दिएका विजय र केकी फेरि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा सँगै मुख्य भूमिकामा देखिँदै छन्।

सम्बन्धित समाचार

सबै