फागुन १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ।
फिल्मका निर्माता किरण नेपालीका अनुसार, यो फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुनेछ। नेपालमा नेपाली भाषामा रिलिज हुने फिल्म भारत र पाकिस्तानमा भने हिन्दी भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ।
फिल्मलाई भारतमा एम.के फिल्म डिस्ट्रिब्युटरले, पाकिस्तानमा हिप्पो फिल्म्सले वितरण गर्नेछन्। नेपालमा भने फिल्मको वितरण काफिया र कुबेर फिल्म्सले गर्नेछन्। फागुन १ गते नेपालमा हिन्दी भर्सन रिलिज हुने छैन।
‘कल्ली’को फर्स्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बजारमा राम्रो छ। लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बनेको यो फिल्मको हाल धमाधम पोस्ट-प्रोडक्सनको काम चलिरहेको छ।
लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा महेश दवाडीको लेखन पनि रहेको छ।
फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारतीलगायत कलाकारको अभिनय रहेको छ।
यो फिल्मले लोभको कथा भन्छ। लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा आधारित फिल्म निर्माण गरिएको निर्माण पक्षको भनाइ छ। फिल्ममा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ।