फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ। छायांकन सुरु हुनु भन्दा दुई महिना अगाडि नै यसको निर्माण पक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो।
निर्माण पक्षले आर.आर फिल्म्ससँग वितरण सहकार्य गर्दै फागुन १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको छ। फिल्मलाई आर.आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन्।
कृषा चौलागाइको निर्देशनमा बन्ने यो फिल्ममा अभिमन्यु निरवीको लेखन र पुरुषोत्तम प्रधानको छायांकन (डीओपी) रहनेछ।
फिल्ममा केदार घिमिरे, सौगात मल्ल र जापानी नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन्। अन्य कलाकारहरू पनि फिल्ममा फाइनल गर्ने चरणमा रहेको निर्माण पक्षले जनाएको छ।
भदौदेखि यो फिल्मको छायांकन जापानमा सुरु हुनेछ। हाल फिल्मको प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको छ।
उज्ज्वल गुरागाइको निर्माणमा तयार हुन लागेको यो फिल्म यूएनए प्रोडक्सनको व्यानरमा बन्नेछ।
फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ। फिल्मलाई उत्कृष्ट बनाउन निर्माण पक्षले कुनै कसर बाँकी नराख्ने बताए।