‘मोहर’को ‘झुम झुम झुम्किका’मा नाँचे पल र बेनिशा

0 Shares

साउन २३ गतेबाट रिलिजमा आउने फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको छ।

आज सार्वजनिक गरिएको यस गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द र एसडी योगीको संगीत रहेको छ।

गीतको भिडियोमा फिल्मका मुख्य नायक पल शाह र नायिका बेनिशा हमाललाई फिचरिङ गरिएको छ। भिडियोमा यी दुई कलाकार छमछमी नाचिरहेको देख्न सकिन्छ। भिडियोमा दुवैको नोकझोक पनि देखाइएको छ, जसले फिल्मभित्र पल र बेनिशाको केमेस्ट्री कस्तो छ भन्ने देखाएको छ।

यसअघि सार्वजनिक फिल्मको शीर्ष गीतमा नायक पल शाह र नायिका नीति शाहको जोडीलाई देखाइएको थियो।

यो गीतको भिडियोमा पलले लामो कपाल पालेका छन्। गीतमा फिल्मकी मुख्य कलाकार मिथिला शर्मा र बाल कलाकार सारा शर्मा पनि देखिन्छन्।

फिल्म मेकर्स प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। फिल्ममा अर्जुन जंग शाही, रवीन्द्र झा र लक्ष्मी गिरीको पनि मुख्य भूमिका छ।

फिल्ममा कुमार महर्जनको एक्सन, दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ।

फिल्मको टिजरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ। देउकी प्रथाको कथामा आधारित यो फिल्ममा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक छन्। लक्ष्मण राज पौडेल निर्माण नियन्त्रक हुन्। सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

सम्बन्धित समाचार

सबै