५१ दिनमा सकियो ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’

0 Shares

निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को छायांकन सकिएको छ। सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले सोमबार ५१ दिनमा छायांकन सकाएका हुन्।

मकवानपुरको चितलाङ्ग, मार्खुलगायत क्षेत्रमा गीतको छायांकन गर्दै फिल्मको ५१ दिनमा सुटिङ सकिएको हो। त्यसअघि ललितपुरको च्यासलस्थित सेटमा छायांकन सुरु गरिएको ‘कोशेढुंगा’ गण्डकी प्रदेशको स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा छायांकन गरिएको थियो।

निर्माणपक्षले रिलिज मिति घोषणा गरिसकेको छ। फिल्म ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदैछ। नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ।

‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। यो फिल्म डायस्पोरामा नेपाली फिल्म इतिहासमा पहिलो पटक ४० देशमा एकसाथ प्रदर्शन हुने जानकारी दिइएको छ।

पहिलो पटक यति धेरै देशमा एकसाथ फिल्म प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ फिल्म प्रतिक्षीत बनेको छ। सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्र करिब ४७ करोड ५० लाखभन्दा बढी ग्रस कलेक्सन गरेको थियो। त्यसैले उनले निर्देशन गरेको यो फिल्म कस्तो हुनेछ भन्ने धेरैमा चासो छ।

निर्माण घोषणादेखि नै दर्शकमाझ उत्सुकता र अपेक्षा दुवै बढाएको फिल्म ‘कोशेढुंगा’को निर्माणपक्षले छायांकनकै क्रममा फर्स्ट लुक्स पोस्टरमा मुख्य कलाकार सुरक्षा पन्त फिचर गरिएको तस्बिर सार्वजनिक गरेको थियो।

“हामीले अपेक्षा गरेअनुसार नै छायांकन भएको छ। यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ। अहिलेसम्मको काम हेर्दा आउटपुट पनि राम्रो आउनेमा हामी टुक्क छौँ,” उनले भने, “फिल्मको अनलाइन सम्पादनको काम सेटमै भइरहेको छ, जसमा सबै कलाकार र प्रविधिकहरुको मेहेनत देख्दा दर्शकलाई केही खास हुनेछ भन्ने हामी सेटबाटै भन्न सक्छौँ।”

दर्शकमा रहेको अपेक्षा ‘कोशेढुंगा’ले पूरा गर्ने कार्यकारी निर्माता दिनेश खड्काले बताए। ‘पूर्ण बहादुरको सारङ्गी’जस्तै दर्शकले मनपराउने फिल्म बनाउने उनले बताए।

फिल्मको कथा र छायांकनमा भएको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्म ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।

फिल्मका निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठले छायांकन गरिरहेको यो फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ। फिल्मको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।

सम्बन्धित समाचार

सबै