आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’ निर्माण अहिले फिल्मको व्यापक प्रचारमा जुटेको छ । गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ ।
यसैबीच, फिल्ममा समावेश एक गीत र टिजर सार्वजनिक भैसकेका छन् । जसले दर्शकमाझ फिल्मको राम्रो हाइप बनाउन सफल देखिएका छन् । फिल्ममा समावेश झुम्का कानैमा गीत र गत हप्ता सार्वजनिक टिजर दुवैले दश लाख बढी दर्शकको साथ पाएका छन् । गीत र टिजर हेरेका दर्शकले फिल्म हेर्न व्यग्र रहेको प्रतिक्रिया समेत दिएका छन् ।
विशेषगरी दर्शकले फिल्मको टिजरलाई अत्यन्त रुचाएको पाइन्छ । टिजरको कमेन्टबक्समा अभिनेता सौगात मल्ल र बेनिशा हमालको केमेष्ट्री निकै जमेको प्रतिक्रिया आएका छन् । ‘झ्यानाकुटी’पछि पुनः यो जोडीलाई पर्दामा हेर्न उत्साहित रहेको प्रतिक्रिया दर्शकको छ । फिल्मका प्रचार सामग्रीले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि उत्साहित देखिन्छ ।
फिल्मका निर्देशक राज बहादुर साने गीत र टिजरले दर्शकमाझ पाएको प्रतिक्रियाले आगामी प्रचार सामग्री गीत र ट्रेलर उत्कृष्ट दिनुपर्ने चुनौती थपिएको बताउँछन् । फिल्मका दुवै प्रचार सामग्रीले दर्शकको अपेक्षा उच्च बनाएकाले अब आउने गीत र ट्रेलर अझै परिस्कृत भएर आउने विश्वास निर्माता भुगोल कार्की र विकासराज जोशीको छ ।
‘सिटामोल’ मार्फत् निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापूर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेका छन् । फिल्मले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने फिल्म निर्माण गरेको भनाइ निर्देशक तथा निर्माताको रहेको छ ।
फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुतिमा रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।