अमेरिकाको २० भन्दा बढी सहरमा ‘सोलफुल यु.एस.ए यात्रा’ गर्दै महेश र अस्मिता

0 Shares

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको संयुक्त सांगीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’ को घोषणा गरिएको छ। सन् २०२५ को अगस्टदेखि अक्टोबर महिनासम्म आयोजना हुने यो टुर संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी सहरहरूमा सम्पन्न हुनेछ। मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत टुरको औपचारिक जानकारी दिइएको हो।

‘ओनेस्ट रियल इस्टेट’ द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा व्यवस्थापन गरिएको यो सांगीतिक यात्रा कोलम्बस (ओहायो), मियामी (फ्लोरिडा), ब्रानफोर्ड (कनेक्टिकट), एशबर्न (भर्जिनिया), ल्यान्कास्टर (पेन्सिलभेनिया) लगायतका प्रमुख सहरहरूमा आयोजना हुनेछ।

थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीका अनुसार महेश र अस्मिताको अमेरिकाका विभिन्न सहरहरूमा राम्रो माग रहेकाले यो टुर आयोजना गरिएको हो।

महेश र अस्मिताले पनि यो यात्रा प्रति अत्यन्त उत्साहित रहेको बताएका छन्। अमेरिकामा रहेका नेपाली समुदायसँग नजिक भएर प्रत्यक्ष रूपमा गीत सुनाउने अवसर पाउनु निकै सन्तोषजनक भएको उनीहरूको भनाइ छ। उनीहरूको ‘लजावती झार’, ‘नाच फिरिरि’, ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू नेपाली श्रोतामाझ अत्यन्त लोकप्रिय छन्।

थ्री ई इन्टरटेन्मेन्टले यसअघि पनि थुप्रै ठूला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यस कम्पनीले आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा, इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्तजस्ता चर्चित नेपाली कलाकारहरूको अमेरिका टुर आयोजना गरिसकेको छ।

त्यसैगरी, १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरू पनि आयोजना गरिएको छ।

सन् २०२२ देखि थ्री ईले “डिटिफेस्ट – दसैं तिहार फेस्ट” नामक भव्य सांस्कृतिक कार्यक्रम भर्जिनियामा नियमित रूपमा आयोजना गर्दै आएको छ। साथै, सन् २०१२, २०१३ र २०१७ मा सम्पन्न “ग्लोबल नेपाल फेस्ट” मार्फत नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा चिनाउने ऐतिहासिक पहल गरिएको थियो।

सम्बन्धित समाचार

सबै