क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित फिल्म ‘क्याप्टेन साब’ को शुभमुहूर्त सम्पन्न भएको छ। बिहीबार काठमाडौंको गौरीघाटमा आयोजित विशेष कार्यक्रममा फिल्मको मुहूर्त गरिएको हो।
दीपेन्द्र के. खनाल निर्देशित यस फिल्ममा पाइलट, व्यवसायी तथा सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको जीवनकथालाई सिनेम्याटिक शैलीमा प्रस्तुत गरिनेछ।
मुहूर्त सट व्यवसायी डा. उपेन्द्र महतो, कल्याप थापा र क्याप्टेन थापाको निर्देशनमा गरिएको थियो।
पटकथा प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा देखिनेछन्। निर्देशक खनालले यसअघि ‘धनपति’मा पनि खगेन्द्र र सुरक्षालाई एकसाथ प्रस्तुत गरिसकेका थिए, तर सञ्जोगसहित यी तीनको यो पहिलो सहकार्य हो।

फिल्मका छायाँकार कृष्णबहादुर थापा हुन् भने छायांकन काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा गरिनेछ। फिल्म भदौको पहिलो सातादेखि छायांकनमा जाने तयारीमा छ।
निर्देशक खनाल भन्छन्, “क्याप्टेन साब एक फरक स्वादको फिल्म हुनेछ। क्याप्टेन थापाको जीवनका आरोह-अवरोहसँगै सिनेम्याटिक लिबर्टी लिएर फिल्मलाई पूर्ण मनोरञ्जनात्मक बनाउने हाम्रो प्रयास रहनेछ। आकाशमा भोगिने चुनौतीदेखि समाजमा पाउने सम्मान र व्यवसायमा आउने विविध तहका पात्रहरू समेटिएको उत्कृष्ट कथा फिल्ममा समावेश हुनेछ।”
यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको सहकार्यमा बन्ने यस फिल्मका निर्माता दीपेन्द्र के. खनाल, करण श्रेष्ठ र श्रृष्टिमा खनाल हुन्। कार्यकारी निर्माता सिर्जना नापित रहेकी छन्।
फिल्मको मुख्य सहायक निर्देशक सौगात बस्नेत छन् भने पोस्टर तथा पब्लिसिटी डिजाईन ‘ट्राइडेन्ट कन्सेप्ट’ मार्फत ‘रोयल भीमसेन’ले गर्नेछन्। प्रोडक्सन डिजाइनर अकी थेक्पा, प्रोडक्सन म्यानेजर रोहित राज गौतम र बिष्णु मैनाली रहेका छन्।