‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर सम्पन्न, राष्ट्रिय भावना बोकेको चलचित्र भन्दै प्रशंसा

0 Shares

 भोलि असार २७ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को बुधबार साँझ राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा ग्राण्ड प्रिमियर सम्पन्न भएको छ। कार्यक्रममा फिल्मकर्मी, सञ्चारकर्मी, कलाकार, सुरक्षा निकायका प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो।

फिल्म हेरेपछि दर्शक र विशिष्ट पाहुनाहरूले फिल्मको खुलेर प्रशंसा गरे।

निर्देशक तुलसी घिमिरेले फिल्मले नेपाली भाषा, साहित्य, कला र इतिहासको महत्व देखाउन खोजेको भन्दै नयाँ पुस्ताका लागि निकै शिक्षाप्रद रहेको टिप्पणी गर्नुभयो।

निर्देशक अशोक शर्माले यस्तो राष्ट्रिय भावना बोकेको फिल्म बनाउन आँट गर्ने निर्देशक र निर्मातालाई धन्यवाद दिनुभयो।

कलाकार राजाराम पौडेलले देशभक्तिपूर्ण भावना बोकेको यस फिल्म हरेक नेपालीले हेर्नैपर्ने बताएका छन्।

लोकगायिका ज्योति मगरले सम्पूर्ण नेपालीले हेर्नुपर्ने चलचित्र भएको भन्दै सबैलाई हेर्न आग्रह गरिन्।

सञ्चारकर्मी सुशील नेपालले विदेशमा हुँदा मात्र नेपाली भाषाको महत्व बुझिने भन्दै राज्यले यस्तो फिल्मलाई कर छुट दिनुपर्ने बताए।

प्रिमियरमा टिकाराम यात्री, बद्री पंगेनी, राधिका हमाल, राजेन्द्र सलभ, ऋषि लामिछाने, महेन्द्र लिम्बु, एआईजी वंशीराज दाहाल, मोहन निरौला, जनकदीप पराजुली, पुस्कर लामा, दिनेश काफ्ले लगायतले फिल्म ‘यो मन त मेरो नेपाली हो’ विश्वभरका नेपालीले हेर्नैपर्ने चलचित्र भएको धारणा राखे।

मुख्य कलाकार विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङले दर्शकको प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए।

**ईश्वर इन्टरटेनमेन्ट प्रा.लि.**को प्रस्तुति र मित्र प्रधानको प्रस्तुतिमा बनेको फिल्मलाई **ज्ञानबहादुर प्रधान (रोशन)**ले निर्माण गरेका हुन्।
फिल्ममा नारायण खाती, भूपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।

फिल्मको लेखन शिवम् अधिकारीको हो भने निर्देशन मित्र प्रधान (नर)ले गरेका हुन्।

छायांकन सौरभ लामाले, द्वन्द्व देव महर्जनले, सम्पादन बनिश शाहले, सिजिआई सत्यम रानाले, र कोरियोग्राफी कविराज गहतराज र प्रमोद भण्डारीले गरेका छन्।

संगीतकार दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राई हुन्। गीतमा दीपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल, र खैजडी गीतमा अनिश अधिकारीका शब्द छन्।

फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ।

सम्बन्धित समाचार

सबै