लगातार विवादित बन्दै खगेन्द्र र दीपेन्द्र : भरत थापा पछि हस्ताक्षर काण्ड, अब पालो ‘क्याप्टेन साब’को ?

0 Shares

अभिनेता खगेन्द्र लामिछाने र दीपेन्द्र खनाल पछिल्लो समय लगातार एकपछि अर्को फिल्ममा एकसाथ काम गरिरहेका छन्। दीपेन्द्र भटाभट फिल्म बनाइरहेका छन् भने खगेन्द्र ती सबै फिल्ममा नछुट्ने कलाकार बनिरहेका छन्।

तर पछिल्लो समय उनीहरूको फिल्म छनौटसँगै अन्य कदम पनि लगातार विवादित बन्न थालेका छन्।

आजमात्र काठमाडौंमा शुभमुहूर्त गरिएको अन्नपूर्ण मिडिया ग्रुपका मालिक रामेश्वर थापाको जीवनीमा आधारित भनिएको वायोपिक ‘क्याप्टेन साब’ माथि पनि विवाद सुरु भएको छ। तर यो समाचार सार्वजनिक भएपछि ‘अन्नपूर्ण पोस्ट’मा काम गरेका पूर्व पत्रकार तथा कर्मचारीहरूले व्यङ्ग्यात्मक टिप्पणी गर्दै वायोपिकमा आफूहरूले भोगेका अन्याय र अहिलेसम्म नपाएको पारिश्रमिकजस्ता कुराहरू पनि समावेश गर्न उनीहरुसँग माग गरेका छन्।

त्यहाँ लामो समय काम गरेका वरिष्ठ फोटो पत्रकार विकास कार्कीले ‘अन्नपूर्ण पोस्ट’को अनलाइन संस्करणमा प्रकाशित समाचारलाई फेसबुकमा सेयर गर्दै लेखेका छन्— “कोरोना कहरमा ५० प्रतिशत तलब काटियो, विरोध गर्नेलाई धनगढी, मनाङ, मुस्ताङ, इलाम र दार्चुला सरुवा गरियो। सरुवाको सिफारिस गर्नेहरू पुरस्कृत भए। हामीले गरेको आन्दोलन छुट्न हुन्न है निर्देशकज्यू?”

त्यस्तै, फिल्म लेखकसमेत रहेका वरिष्ठ रंगपत्रकार सामिप्य तिमिल्सिनाले लेखेका छन्— “काम गरेको तलब नदिएर श्रम अदालतमा हामीले हालेको मुद्दा अझै छिनोफानो हुन बाँकी छ। थप तीन–चार सय खर्च हुने भयो। जे होस्, ‘परम प्रेरणादायी’ कथा पर्दामा आउने भो।”

सामिप्यसहित ११ जनाले पारिश्रमिकसम्बन्धी मुद्दा हालेका छन्। यस्तै समस्या अन्नपूर्ण टेलिभिजनसँग पनि रहेको जनाइएको छ।

खगेन्द्र–दीपेन्द्रको जोडी विवादमा परेको यो तेस्रो पटक हो।

यसअघि सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनीमा आधारित फिल्म ‘मेयर’ फ्लोरमा जानुअघि तामझामका साथ सार्वजनिक गरिएको थियो। तर फिल्म सुटिङ सकिएर एडिटिङ टेबलमा पुग्दा–पुग्दै विवादमा फस्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापामाथि भ्रष्टाचारको मुद्दा चलायो। हाल उनी धरौटीमा बुझाएर मुद्दा लडिरहेका छन्। फिल्ममा खगेन्द्रले नै शीर्ष भूमिका निर्वाह गरेका छन्। तर हाल फिल्मको रिलिज अन्योलमा छ।

त्यस्तै केही दिनअघि सहकारी ठगी गरेर बचतकर्ताको रकम अपचलन गरेको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति राज्यले प्रतिशोध साँधेको भन्दै सो पार्टीले चलाएको हस्ताक्षर अभियानमा दीपेन्द्र र खगेन्द्र दुवैले लाइन लागेर हस्ताक्षर गरेका थिए। सो सम्बन्धी तस्बिर र भिडियो सार्वजनिक भए लगत्तै उनीहरुको यो कृत्य पनि आलोचित हुन सुरु गर्‍यो।

उनीहरूलाई— “कलाचेत बोकेका व्यक्तिहरूले अदालतमा विचाराधीन मुद्दामा हस्ताक्षर गर्नु उपयुक्त हो?” भन्ने प्रश्न उठेको छ। अझ खगेन्द्रमाथि त सहकारी पीडितको पक्षमा बनेको ‘महाभोज’ फिल्ममा अभिनय गर्ने अनि पीडक भनिएका पक्षमा हस्ताक्षर गर्ने भनेर झन् बढी आलोचना भयो। उनीहरूको नैतिक दायित्वमाथि सार्वजनिक प्रश्न उठेको छ।

यस्तोमा ‘क्याप्टेन साब’ वायोपिक थपिएर खगेन्द्र–दीपेन्द्रको नाम फेरि विवादमा तानिएको छ। हेर्न बाँकी छ, अब उनीहरूले यो विरोधको सामना कसरी गर्छन्।

सम्बन्धित समाचार

सबै