चलचित्र लेखक तथा निर्देशक माधव राज खरेलद्वारा निर्देशित फिल्म ‘चिट्ठी’ आगामी भदौ २० गते (सेप्टेम्बर ५) देखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मकी निर्माता सञ्चारकर्मी कमला जोशी हुन् भने वितरणको जिम्मा कुवेर सिने डिस्ट्रीब्युशनले लिएको छ।
केही समयअघि काठमाडौंमा आयोजित विशेष प्रदर्शनमा दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र माया देखेर निर्माण पक्ष उत्साहित भएको जनाएको छ। दुई घण्टा लामो यो फिल्म पूर्णरूपमा ह्योरर, कमेडी, सस्पेन्स र थ्रिलर शैलीमा तयार गरिएको हो। सेन्सर बोर्डले फिल्मलाई PG सर्टिफिकेट दिएको छ, जसअनुसार १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्न पाउनेछन्।
मुख्य भूमिकामा खड्गबहादुर पुन मगर ‘खबपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे र नम्रता खरेल रहेका छन्। त्यस्तै, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला र कविन्द्र त्रिपाठीजस्ता कलाकारहरू पनि विशेष भूमिकामा देखिएका छन्।
फिल्ममा सञ्चारकर्मी सरोज कोईरालाको संगीत, डा. कृष्णहरि बराल र कमला जोशीको शब्द रहेको गीतहरूमा शिव परियार, बेनिशा पौडेल र बसन्त अर्यालले स्वर दिएका छन्। शिव ताण्डव गीतको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईंले गरेका छन्, जसले फिल्मलाई थप आकर्षक बनाउने विश्वास निर्देशक खरेलले व्यक्त गरेका छन्।
फिल्मको छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन्। सम्पादन राजेश कुमार, ग्राफिक्स तथा VFX समिर मियाँ, द्वन्द्व निर्देशन किरण दाहाल, पाश्र्व संगीत पुष्कर खत्री, साउण्ड मिक्सिङ मनोज परियार र ५.१ साउण्ड डिजाइन अमित श्रेष्ठले गरेका छन्।
गीत, ट्रेलर र पोस्टर छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। प्रचार–प्रसार सामग्री अमृत चापागाईं र साहिल खानले तयार पारेका छन्।