‘जहाजैमा’मा वर्षा सिवाकोटीको इन्ट्री

0 Shares

निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन्। निर्माण टिमले शनिबार एक औपचारिक कार्यक्रममार्फत उनलाई अनुबन्ध गरेको हो।

अनुबन्धपछि सिवाकोटीले कथा र टिम मन परेको बताउँदै उत्कृष्ट कलाकार तथा प्राविधिकहरूसँग काम गर्ने मौका पाएकोमा आफू खुशी भएको प्रतिक्रिया दिइन्।

यसअघि फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य, र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन्। निर्माण पक्षका अनुसार अन्य कलाकारहरूको छनोट अन्तिम चरणमा रहेको छ।

अभिमन्यू निरवीद्वारा लेखिएको फिल्मको छायांकन निर्देशन (DOP) पुरुषोत्तम प्रधानले गर्नेछन्। उज्ज्वल गुरागाईंको निर्माणमा तयार हुने फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा बन्नेछ, जसमा केपी फिल्म्स सह–निर्माताको रूपमा रहनेछ।

फिल्मको छायांकन आगामी भदौ महिनाबाट जापानमा सुरु गरिनेछ भने नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ। प्रि–प्रोडक्सनको काम अहिले तीव्र गतिमा चलिरहेको निर्माण पक्षले जनाएको छ।

छायांकन सुरु हुनुभन्दा करिब दुई महिना अघिनै, निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ। आर.आर. फिल्म्ससँग सहकार्यमा फिल्म आउँदो फागुन १ गते देशभर रिलिज गरिनेछ। फिल्मको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन्।

सम्बन्धित समाचार

सबै