
चर्चित गायिका एलीना चौहान र गायक पवन परियारको स्वरमा सजिएको नयाँ लोकपप शैलीको गीत ‘सिस्नो ले पोल्यो’ सार्वजनिक भएको छ। गीत शुक्रबार युट्युबको टीआर सिरिज च्यानलमार्फत औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
गीतमा तुलाराम लामिछाने र पवन परियारकै शब्द संयोजन रहेको छ भने संगीत पनि परियारले नै तयार गरेका हुन्। परम्परागत लोक भावनालाई आधुनिक संगीत संयोजन मार्फत नयाँ पुस्तालाई आकर्षित गर्ने प्रयास गरिएको यस गीतमा करिश्मा शाही, सुमन योगी, र अन्य कलाकारहरूको अभिनय देख्न सकिन्छ।
गीतले पहाडी गाउँको परिवेश, प्रेम, र पीडाको कथा प्रस्तुत गर्छ। ‘सिस्नोले पोल्यो’ भन्ने प्रतीकात्मक अभिव्यक्तिमार्फत मनको घाउ र सामाजिक यथार्थलाई प्रभावशाली रूपमा चित्रण गरिएको छ। चौहानको सुमधुर स्वर र परियारको दमदार गायनले गीतलाई थप भावुक र आकर्षक बनाएको छ।
गीतको भिडियो सुरेश पाण्डेको कोरियोग्राफी र निर्देशनमा तयार भएको हो। छायांकन देव दोर्जे लामाले र सम्पादन अनिल बिष्ट प्युठानीले गरेका हुन्। सार्वजनिक भएलगत्तै गीतले युट्युबमार्फत दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
लोकपप शैलीमा ल्याइएको यो सिर्जना नेपाली संगीतमा नयाँ स्वाद थप्ने प्रयत्नका रूपमा हेरिएको छ।