‘मुनामदनको ब्रेकअप’को घोषणा

0 Shares

 निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को औपचारिक घोषणा भएको छ। फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा रहनेछ भने श्रीधर पौडेल कार्यकारी निर्माताका रूपमा रहनेछन्।

पत्रकारिता पृष्ठभूमि भएका लामा, तिमल्सेना र पौडेलले यसअघि २०७५ सालमा फिल्म ‘गोपी’ मा सँगै काम गरेका थिए। अब पाँच वर्षपछि उनीहरू फेरि सहकार्यमा जुटेका हुन्।

फिल्ममा हालसम्मका लागि राज कटवाल मात्र कलाकारको रूपमा फाइनल भएका छन्। उनले पछिल्लो पटक फिल्म ‘नरसिंहा अवतार’ मा अभिनय गरेका थिए। निर्देशक लामाका अनुसार अन्य कलाकारको छनोट प्रक्रिया टुंगिन बाँकी छ।

लामाले भने, “पटकथामा सुहाउने भएकाले कटवाललाई अनुबन्ध गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुरूप चयन गरिनेछ।” ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म ६ वटा फिल्म निर्देशन गरिसकेका लामाले ‘मुनामदनको ब्रेकअप’लाई मनोरञ्जक शैलीको फिल्म बनाउने लक्ष्य लिएका छन्।

May be an image of 4 people, people smiling and text

लेखक तिमल्सेनाका अनुसार फिल्ममा ग्रामीण परिवेशमा आधारित फरक स्वादको प्रेमकथा प्रस्तुत गरिनेछ। “पछिल्ला फिल्मका भन्दा भिन्न स्वभावको कथा छ,” उनले भने, “दर्शकलाई हलसम्म तान्न गाह्रो भइसक्यो, त्यसैले पटकथामा भरपुर मिहिनेत गर्नेछौं।”

मुख्य भूमिका निभाउन लागेका अभिनेता कटवालले आफू उत्साहित रहेको बताए। “यो फिल्ममा आफूलाई थप परिष्कृत देखाउने प्रयास गर्दैछु,” उनले भने, “भूमिका पनि चुनौतीपूर्ण छ।”

कार्यकारी निर्माता पौडेलले फिल्मको छायांकन कास्कीको ग्रामीण क्षेत्रमा गरिने जानकारी दिए। “पटकथा र प्रिप्रोडक्सन पर्फेक्ट भएपछि मात्रै छायांकनमा जानेछौं,” उनले भने, “हामी धैर्यपूर्वक उत्कृष्ट प्रोडक्ट निकाल्ने लक्ष्यमा छौं।”

सम्बन्धित समाचार

सबै