आगामी साउन २३ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’ को प्रचारप्रसारमा नायक पल शाह र नायिका बेनिशा हमाल सक्रिय छन्। फिल्मको ‘झुम झुम’ बोलको गीतले राम्रो प्रतिक्रिया पाइरहेका बेला पल र बेनिशा विभिन्न कार्यक्रममा सहभागी हुँदै दर्शकसँग नाचगान गर्दै प्रचारमा व्यस्त छन्।
यसै सन्दर्भमा फिल्म टिम पश्चिम नेपालको बुटवल पुगेको छ। अभिनेता पल शाह, अभिनेत्री बेनिशा हमाल, लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही र मुख्य सहायक निर्देशक गिरिराज घिमिरे सहितको टिमले बुटवलका विभिन्न क्याम्पस, विद्यालय र रोट्र्याक्टमा आवद्ध युवासँग भेटघाट र साक्षात्कार कार्यक्रमहरू सम्पन्न गरेका छन्।
साक्षात्कारका क्रममा पल शाहले भने, “मोहर सबै परिवारले सँगै बसेर हेर्न सक्ने फिल्म हो।” उनले फ्यानहरूसँग कुराकानी गर्दै थपे, “कलाकारले कमाउने भनेको दर्शकको माया हो, र यो माया सजिलै कमाउन सकिँदैन।”
बेनिशा हमालले फिल्मले उठान गरेको देउकी प्रथा जस्तो संवेदनशील विषयले दर्शकलाई भावनात्मक रूपमा छुने विश्वास व्यक्त गरिन्।
दर्शकहरूले पल र बेनिशालाई प्रत्यक्ष भेट्न पाउँदा उत्साहित प्रतिक्रिया जनाएका थिए। उनीहरूले ‘मोहर’ प्रति उत्सुकता र उच्च आशा व्यक्त गरे।
देउकी प्रथामा आधारित यस फिल्ममा पल र बेनिशासँगै नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा लगायत कलाकारको अभिनय रहेको छ। फिल्मको टिजर र दुईवटा गीत दर्शकले पहिले नै मन पराइसकेका छन् भने ट्रेलर छिट्टै सार्वजनिक हुने तयारीमा निर्माण पक्ष जुटेको छ।
फिल्म फिल्म मेकर्स प्रा.लि. को व्यानरमा निर्माण भएको हो र यसले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ।