फरक अवतारका कारण वर्षा सिवाकोटीलाई ‘माग्ने राजा’मा धेरै अपेक्षा

0 Shares

अभिनेत्री वर्षा सिवाकोटी अहिले नेपाली फिल्म उद्योगमा सफलताको शिखरतर्फ अघि बढिरहेकी छन्। ‘नाइँ नभन्नू ल २’ बाट डेब्यू गरेकी वर्षा पछिल्ला दिनमा एकपछि अर्को फिल्ममा अनुबन्धित भइरहेकी छन्।

उनको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ आगामी भदौ ६ गते प्रदर्शनमा आउँदैछ, जहाँ उनी कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ सँग जोडी बाँध्दैछिन्।

वर्षाले भनिन्, “सिनेमामा प्रस्ताव आएपछि म तुरुन्तै तयार भएँ। टिम उत्कृष्ट थियो, र केदार दाईसँग ‘छक्का पञ्जा ५’ मा सहकार्य गरिसकेकाले फेरि काम गर्न सहज महसुस भयो।”

निर्देशक ऋषि लामिछानेको निर्देशनमा बनेको यस फिल्मका लेखक सामीप्यराज तिमल्सेना हुन्। उनीसँग पनि वर्षाको अघिल्लो सहकार्य रहिसकेको छ।

वर्षाको दाबी छ कि ‘माग्ने राजा’ मा उनले अघिल्ला क्यारेक्टरभन्दा भिन्न भूमिका निर्वाह गरेकी छन्। “कथावस्तु नै फरक छ, मेरो क्यारेक्टरमा पनि केही नयाँ छ। निर्देशकको सोच अनुसार मैले अभिनय गरेकी छु,” उनले भनिन्।

फिल्म निर्माण प्रक्रिया, निर्देशकको योजना र समर्पित टिमका कारण फिल्मले सफलताको सम्भावना बोकेको वर्षाको विश्वास छ। “सिर्जना मात्रै होइन, त्यसको प्रस्तुतिकरण पनि महत्वपूर्ण हुन्छ। यही कुरा बुझेर टिमले काम गरेको छ,” उनले भनिन्।

फिल्मको विषयवस्तुले समाजका सबै वर्गलाई समेट्ने प्रयास गरिएको छ। “सिनेमाले निम्न र उच्च वर्गबीचको खाडल, अहिलेको राजनीतिक अवस्था, मित्रता, परिवार र प्रेम सबैलाई प्रतिनिधित्व गर्छ,” वर्षाको भनाइ छ।

‘छक्का पञ्जा ५’ मा आफ्नो कामबाट राम्रो प्रतिक्रिया पाएको अनुभव उनी सेयर गर्छिन्। “‘छक्का पञ्जा ५’ बाट मैले धेरै माया पाएँ। त्यसैले ‘माग्ने राजा’ मा अझ बढी मिहिनेत गरेकी छु,” उनले भनिन्।

सिनेमाको शीर्षकले नै आफूलाई आकर्षित गरेको बताउँदै उनले भनिन्, “‘माग्ने’ शब्दले मनमा धेरै कुरा खेलाउँछ, र ती सबै पक्षहरू मैले एउटै पात्रमा उतार्ने प्रयास गरेकी छु।”

सम्बन्धित समाचार

सबै