‘मैझारो’मा दिया पुन अनुबन्धित

0 Shares

अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने फिल्म मैझारोमा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।

यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर यसै फिल्मका लागि अनुबन्धित भइसकेका थिए। अब दियाको संलग्नतासँगै फिल्मको मुख्य कलाकारहरूको सूची विस्तार भएको छ। निर्देशक राईले भने, “कथाको मागअनुसार हामीले दिया पुनलाई अनुबन्ध गरेका हौं। अन्य कलाकारहरूको छनोट प्रक्रियामा पनि काम भइरहेको छ।”

मैझारोमा धिरज, मिरुना र दियाबाहेकका अन्य कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन। निर्माण टिमका अनुसार केही दिनमै बाँकी कलाकारहरूको टुंगो लाग्नेछ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म मैझारो पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथामा निर्माण हुनेछ। फिल्मको छायांकन साउनको पहिलो साताबाट सुरु गरिनेछ भने इलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिनेछ।

फिल्मको संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन्। गीतहरूमा राजेशपायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङले स्वर दिनेछन्। छायांकन सौरभ लामाले गर्ने तय भएको छ।

निर्देशक राईका अनुसार मैझारो लेखन र निर्देशन दुवैमा उनको डेब्यु फिल्म हुनेछ। यसअघि तक्मे प्रोडक्सन हास्य तथा सांगीतिक सामग्रीहरू उत्पादन गर्दै आएको थियो। मैझारोमार्फत कम्पनीले पहिलोपटक ठूलो पर्दाको फिचर फिल्म निर्माणको सुरुवात गर्न लागेको हो।

सम्बन्धित समाचार

सबै