अन्तरजातीय प्रेम कथामा आधारित भएर बन्ने तयारीमा रहेको फिल्म ‘जदौ’ मा अभिनेता प्रभातपाल ठकुरी प्रमुख भूमिकामा अनुबन्धित भएका छन्। पछिल्लो समयका चर्चित र व्यस्त मोडल तथा अभिनेता ठकुरी फिल्ममा अभिनेत्री नीति शाहको जोडीका रूपमा देखिनेछन्।
फिल्मको निर्देशन कसले गर्ने भन्ने औपचारिक घोषणा नभए पनि लेखक तथा निर्माण परिकल्पनाकार काजी लिम्बू हुन्।
यसअघि नै ‘जदौ’ मा अभिनेता मुकुन भुसाल, अभिनेत्री नीति शाह, ऋचा शर्मा र अभिनेता विनोद न्यौपाने अनुबन्धित भइसकेका छन्। अब प्रभातपालको पनि टिममा सहभागी भएसँगै कलाकारको लाइनअप थप बलियो बनेको निर्माण पक्षको भनाइ छ।
प्रभातपालले सिनीयर कलाकारहरूसँग स्क्रीन शेयर गर्ने अवसर पाउँदा आफू निकै उत्साहित भएको र भूमिकालाई न्याय दिन विशेष तयारीमा जुटेको बताएका छन्।
सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा बन्ने फिल्मका सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा र नारायण शास्त्री छन्। बुद्धि माझीले निर्माण व्यवस्थापन सम्हाल्ने छन्।
फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने जानकारी सिल्भर स्क्रिन इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक विमला भण्डारीले दिएकी छिन्।
फिल्ममा संगीत बाबुल गिरीको रहनेछ भने छायांकन श्याम तामाङले गर्नेछन्। ‘जदौ’ दाङ र प्युठानका विभिन्न रमणीय स्थानहरूमा खिचिनेछ।
केही दिनभित्रै प्रेसमिटको आयोजना गरी फिल्मबारे विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी निर्माण टिमले गरेको छ।