‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक, कामेश्वरको चिच्याहट आखिर केका लागि ?

0 Shares

चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेता कामेश्वर चौरासियालाई एउटा गहिरो भावनात्मक क्षणमा देखाइएको छ — उनी खुसी, क्रोध वा पीडामा कराइरहेजस्तो देखिन्छन्। उनको ठीक तल विराटनगर कारागार देखिन्छ, जसको तारबारमाथिबाट उनी चिच्याइरहेका छन्।

पोस्टरमा अगाडि राखिएको रातो डफल ब्याग, जेलको पृष्ठभूमि र कामेश्वरको एक्सप्रेसन मिलेर उनले फिरौती तिर्दैछन् वा उठाउँदैछन् भन्ने शंका उत्पन्न गर्छ। तर, पोस्टरको निलो तथा शान्त रंग संयोजनले यस अनुमानमा द्विविधा थप्छ। यिनै तत्वहरूले पोस्टरलाई रहस्यमय र चाखलाग्दो बनाएका छन्।

‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते (सेप्टेम्बर १२, २०२५) मा नेपाली संस्करणमा तथा असोज ६ गते (सेप्टेम्बर २२, २०२५) मा हिन्दी संस्करणमा प्रदर्शन हुने जानकारी दिइएको छ।

चलचित्रले पैसाको लोभमा फसेको र त्यहाँबाट उम्किन संघर्ष गरिरहेको व्यक्तिको कथा प्रस्तुत गर्ने संकेत दिएको छ।

हाल पोस्ट–प्रोडक्सन चरणमा रहेको चलचित्रमा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला प्रमुख भूमिकामा छन्।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो।

चलचित्रको लेखन मुकेश खनालले गरेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा रहेका छन्। बिनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेका चलचित्रमा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता हुन्। बिशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्मातामा छन्।

जिवन शाक्य लाइन प्रोड्युसर, आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, र सरोज श्रेष्ठ निर्माण नियन्त्रक हुन्। चलचित्रको छायांकन शरद महतोले गरेका हुन्।

सम्बन्धित समाचार

सबै