‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर : पार गर्‍यो मिलियन भ्यूज, जान्नुस् के छ खास?

0 Shares

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका देखाइएको छ।

विवाहको दृश्यसँगै सुरु हुने टिजरमा फिल्मका मुख्य पात्र विजय बरालको कोरिया जाने सपना केन्द्रमा छ। कोरिया जान बुवालाई मनाउँदाको नोकझोक र काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगीको वरिपरि टिजर घुमेको छ।

कोरिया जान्छु भनेर काठमाडौं आएका विजय कसरी काठमाडौंमै अलमलिन्छन् र उनको सपना कसरी गन्तव्यहीन बन्छ भन्ने कुरा टिजरमा देखाइएको छ।

सामान्य जानकारी नै नलिई तय गरिएको गन्तव्यमा पुग्न कति कठिन हुन्छ भन्ने सन्देश टिजरले उजागर गरेको छ। परिवारको दुःख हटाउने सपना बोकेर हिँडेको पात्र आफैँ कसरी घनघोर दुःखको दुष्चक्रमा फस्छ भन्ने देखाइएको छ।

यसै क्रममा बस्ने प्रेम र त्यसको सुख-दुख पनि टिजरमा देख्न सकिन्छ। टिजरमा फिल्मका मुख्य पात्र विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा लगायतलाई देख्न सकिन्छ।

फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को निर्देशन हिमाल न्यौपानेले गरेका छन्।

यो फिल्म भदौ ६ गते रिलिज हुँदैछ।

टिजरले हाल यो समाचार तयार पार्दासम्म १० लाख ४२ हजार बढि भ्यूज पाइसकेको छ भने कमेन्टहरु पनि उत्साहजनक रहेका छन् । यो फिल्मका लागि सुखद संकेत हो ।

फिल्मका एसोसियट निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत हुन्।

बलियो कलाकारहरूको लाइनअप रहेको फिल्ममा विजय, केकी, मिरुना, भोलाराज र सुशांकसँगै रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्।

फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। संगीत थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको रहेको छ।

नवीन गुरुङको डीओपी, कृष्ण परियारको सिनेमेटोग्राफी रहेको फिल्ममा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक हुन् भने तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशकका रूपमा रहेका छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

फिल्ममा शाहिल खानको टिजर-ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन रहेको छ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ।

अल टाइम ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो वर्षको पहिलो फिल्म हो। उनले सोमवार ‘पूर्णबहादुरको सारंगी’ बाट उत्कृष्ट अभिनेता राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गरेका छन्।

विसं. २०८१ मा नेपाली फिल्म उद्योगलाई ब्लकबस्टर दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ मा मुख्य भूमिकामा सँगै देखिँदैछन्।

त्यसैगरी, आफ्नै टिमको हिस्सा रहेका मुख्य कलाकार र सम्पादकले सोमबार राष्ट्रपति निवास महाराजगञ्जमा आयोजित समारोहमा उत्कृष्ट अभिनेता र उत्कृष्ट सम्पादनको राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेपछि ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ टिमले विजय बराल र भरत रेग्मीलाई सम्मानसमेत गरेको छ।

सम्बन्धित समाचार

सबै