काठमाडौंको धुम्बाराही चोकमा विभिन्न सेवा–सुविधासहित ‘होटल स्मार्ट’ सञ्चालनमा आएको छ।
सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमालसहित चर्चित सेलिब्रिटीहरूको बाक्लो उपस्थिति रहेको थियो।
महानायक हमालले होटलको मुख्य प्रवेशद्वारको उद्घाटन पानसमा बत्ती बाल्दै रिबन काटेर भव्य रूपमा गरेका थिए भने गायक प्रमोद खरेलले दोस्रो प्रवेशद्वार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्वय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर, ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्शन, र अर्का सञ्चारकर्मी सुशिल नेपालले रुफटप बारको उद्घाटन गरेका थिए।
“यदि तपाईंहरूलाई यो होटल मन पर्छ भने पक्कै पनि तपाईंहरूलाई मेरो घर पनि मन पर्नेछ, किनकि यो होटल जसले बनाउनु भएको हो, मेरो नयाँ घर पनि उहाँहरूले नै बनाउनु भएको हो,” महानायक हमालले उद्घाटन कार्यक्रममा भने।
उनी गत बैशाख १ गतेदेखि बुढानीलकण्ठस्थित नयाँ घरमा बस्दै आएका छन्।
त्यस्तै, सञ्चारकर्मी प्रकाश सुवेदीले मुख्य हाइवेमा यति धेरै सुविधा सहितको होटल निर्माण हुनु सराहनीय रहेको बताए।
गायक प्रमोद खरेल, मेलिना राई र मिलन नेवारले भने, ‘द भ्वाइस’को स्टुडियो नजिकै भएकाले यो होटल रिफ्रेशमेन्टका लागि उपयुक्त रहेको बताए।
करीब ४० करोड रुपैयाँको लागतमा निर्माण भएको ‘होटल स्मार्ट’मा १७ वटा कोठासहित ६ सय क्षमताको बैंकेट हल, १०० क्षमताको रेस्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना, स्टिम र जाकुजीसहित रुफटप गार्डेन र रेस्टुरेन्ट उपलब्ध छन्।
होटललाई ३५ वर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो।
उद्घाटन कार्यक्रममा सुरेशले भने, “यो होटल सबै वर्गका ग्राहक लक्षित छ, एकै स्थानमा धेरै सुविधा र ग्राहकमैत्री सेवा उपलब्ध छन्।”