
चलचित्र ‘चमेलीको पोई’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले रामनवमीको अवसर पारेर फिल्म चैत १३ गते प्रदर्शन हुने घोषणा गरेको हो।
बुधबार नारायणथानमा आयोजित एक कार्यक्रममा चलचित्रका तीनवटा फरक डिजाइनका पोस्टर सार्वजनिक गरिएका छन्। तिनैमध्ये एक पोस्टरमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तानेको देखिन्छ। अर्को पोस्टरमा सुरक्षाले बन्दुक बोकेकी छन् भने मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलाफको फूल समातेका छन्। तेस्रो पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरू अटाएका छन्, जहाँ मुकुनले सुरक्षाको खुट्टा मिचिरहेको दृश्य देखिन्छ। ती पोस्टरहरूले चलचित्र हास्य तथा सस्पेन्सले भरिएको संकेत गर्छन्।
एभरेस्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्ममा मुकुन र सुरक्षाका साथ नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, राम नारायण उपाध्याय, गणेश गौतम, अन्सु महर्जन, बबिन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मिना आरएल शाही, र रितु मल्ल ठकुरी लगायत कलाकारको अभिनय छ। फिल्मको कथा र संवाद शिवम् अधिकारीले लेखेका हुन्।
धन लक्ष्मी सिने मेकर्सको प्रस्तुति रहेको यो चलचित्रमा सुनीता सापकोटा र राम नारायण उपाध्याय लगानीकर्ता रहेका छन्। उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माताका रूपमा छन् भने लाइन प्रोड्युसर धनकुमारी श्रेष्ठ बोहरा हुन्। सह-निर्मातामा यम ओली, सुदीप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, कपिल आचार्य र प्रदीपकुमार सापकोटा रहेका छन्।
चलचित्रको छायांकन शेरबहादुर तामाङले गरेका हुन् भने सम्पादन बन्दे साह र सुजन वडालले गरेका छन्। संगीत राजनराज सिवाकोटीको रहेको छ। कोरियोग्राफी कविराज गहतराजले, एक्सन निर्देशन कुमार महर्जनले गरेका छन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।